खोटाङ असार–२७, खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको पहिरोमा परी २ छोरासहित बेपत्ता बनेका एक महिलाको शव भेटिएका छन् । आज (शुक्रबार) बिहान झरेको पहिरोले घर बगाउँदा वेपत्ता बनेका २९ बर्षिया रेखा राईसँगै उनका ४ बर्षिय छोरा रमण र ७ महिने छोरा रोजनको शवलाई प्रहरी र स्थानीयले फेला पारेका हुन् ।

शुक्रबार बिहान करिब पाँच बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका रेखासँगै उनको श्रीमान बिष्णुसँगै दुई छोरालाई बगाएका थिए । बिष्णुलाई भने पहिरोले घर बगाउनासाथ घाईते अवस्थामा स्थानीयले उद्दार गरेको विष्णुका दाजु श्याम राईले बताउनुभयो । घाईंतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराईरहेको जनाईएको छ ।

बेपत्ता बनेका दुई छोरा र रेखाका उद्दारका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । लामो प्रयासपछि बेलुकीपख मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त तथा दुर्गम स्थानमा पर्दछ । घरदेखि करीब ४ सय मिटरमाथिबाट पहिरो झरेको थियो ।

जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोले क्षति पु¥याएको खबरहरु आईरहेका छन् । बिवद्युत तथा टेलिफोनमा समेत समस्या आएका कारण विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।