खोटाङ, १५ माघ । खोटाङको पहिलो ओटासिल पिच गरिएको जयराम–हलेसी सडक जीर्ण बनेको छ । ओटासिल कालोपत्रे उक्किएपछि जयरामदेखि हलेसीसम्मको ३० किलोमिटर सडक जीर्ण बनेको हो । पहिलोपल्ट २०६७ सालमा गरिएको कालोपत्रे छोटो समयमै उक्किए पछि सडक जीर्ण बन्दै गएको छ ।
ठेकेदारको लापरबाहीका कारण कालोपत्रेको तह चाँडै उक्किएपछि सो सडकका ठाउँ–ठाउँमा सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको छ । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण ६ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको च्यास्मीटारका स्थानीय एबं माओबादी केन्द्रका नेता जीवन राईले बताउनुभयो । सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर ओटासिल गरेको थियो ।
ठेकेदारले फाईदाकालागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । कम्तीमा दश वर्ष टिक्नुपर्ने ओटासिल तीन÷चार वर्षमै उक्किएको राईको दाबी छ ।
जिल्ला प्राबिधिक कार्यालय खोटाङका अनुशार हाल ओटासिल उक्किएको जयराम–हलेसी सडकमा (डिबीएचटि) पिचका काम भइरहेको छ । सो सडकलाई रौता कन्ट्रक्सनले पिच गर्ने जिम्मा लिएको छ । तर, ठेकेदारले जयराम–हलेसी सडकमा सुस्त गतिमा कालोपत्रेका काम गरिरहेको च्यास्मीटारका स्थानीय एबं एमाले नेता सुरेन्द्र राईले बताउनुभयो ।