खोटाङ असार–१८, राई ईज किङको उपाधी प्राप्त गायक राजेशपायल राईलाई एक लाख रुपैंयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ । खोटाङमा जन्मी भर्सस्टाईल गायकका रुपमा स्थापित राईलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश–दुनियाँमा चिनाएको भन्दै राईलाई उक्त राशीको ‘नगर पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । बुधबार आयोजना गरिएको दोश्रो नगर दिवसमा राईलाई पुरस्कार हस्तन्तरण गर्ने तयारी गरिएको थियो । नगर दिवसको अवसरमा बिशेष कारण राजेशपायल उपस्थित हुन नसकेपछि उक्त पुरस्कार हस्तान्तरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

पुरस्कार छनौट समितिले निर्णय गरे बमोजिमको उक्त पुरस्कार नगरपालिकाले बिशेष कार्यक्रमको आयोजना गरी चाँडै राईलाई हस्तान्तरण गरिने मेयर दिपनारायण रिजालले बताउनुभयो । राजेशपायल राई नगरपालिकाको १४ नम्बर वडामा पर्ने बुइपामा जन्मनुभएको हो ।

नगर दिवसको अवसरमा अन्य विविध विधाका उत्कृष्ट संस्था तथा ब्यक्तिलाई पनि पुरस्कृत गरिएको छ । नगरपालिकाले नगरभित्रका उत्कृष्ट कर्मचारी मोहनप्रसाद आचार्यलाई  नगद ५० हजार रुपैंयाँ , उत्कृष्ट विद्यालयको रुपमा पञ्च माबिलाई नगद ५० हजार रुपैंयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । यस्तै, बिद्यालय सुधारसम्बन्धी उत्कृष्ट शिक्षकका रुपमा काम गरेको भन्दै सरस्वती माबिका प्रधानाध्यापक ध्यानबहादुर राईलाई ५० हजार, उत्कृष्ट उद्यमीका रुपमा पाउरोटी उद्योगी अशोक राईलाई २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, टोल सुधार सम्बन्धी उत्कृष्ट कार्य गर्ने दिक्तेलबजारस्थित बैंकचोक टोल सुधार समिति र उपभोक्ता समितिका रुपमा उत्कृष्ट कार्य गरेको भन्दै साप्सुधाप पर्यटन बिकास उपभोक्ता समितिलाई नगद २५–२५ हजार रुपैंयाका साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । नगरपालिकाले केही दिन नतिजा आएको एसईई तथा ८ कक्षाका परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र तथा छात्रालाई जनहरु पाँच–पाँच हजारका दरले पुरस्कार प्रदान गरेको छ ।

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्नुभएको कार्यक्रममा पुर्व सांसदद्वय अस्मिता कार्की, पाँचकर्ण (पीके)राई लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्याय लगायतका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थियो ।