खोटाङ असार–१५, न ऋण, न धन । मनिराम राईको परिवार ‘दुखुम–सुखुम’ आराम साथ नै चलिरहेको थियो । ५५ बर्षको आसपासमा रहेको मनिराम सोही उमेरकी उनकी श्रीमति र एक मात्र सन्तान प्रविण । यस्तो खाले परिवारलाई नै एकल तथा सुखी परिवार भनिन्छ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी देउसाली गाउँका उक्त परिवारमा पछिल्लो समय आपत्ती आईलागेको छ ।

एक्लो सन्तान भएर ‘पुल्पुलाएरै’ हुकाईएको २४ बर्षिय छोरा प्रबिण केही बर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया गए । भविश्यको भार थाम्न भनेर मलेसिया गएको प्रविणले धन कमाएन बरु ऋण थपेर फर्किए । त्यो ऋणको त खासै हिसाव नगरे नि हुन्छ । ३ बर्ष बसेर रित्तै जसो फर्किएको प्रबिण काठमाण्डौंबाट जव गाउँ आए एक्कासी समस्या देखा प¥यो ।

भनिन्छ–‘ऋण लागोस् तर दिन नलागोस् ।’ तर भएन उसो । ‘दिन र ऋण’ दुवै जाईलागे सोहीे परिवारमा ।
मनिराम र उनकी श्रीमतिको आशा तथा भरोसाको केन्द्र उनै प्रबिण अहिले जीवन–मरणको सिमानामा छन् । मनिराम आफै पीडित त्यही माथि छोरा एक्कासी आमासय(आन्द्रा)को क्यान्सरले थलिए ।

‘वावुछोरा एकै चोटी विरामी परे ।’ प्रबिणको फुपु विरस राईले सुनाईन–‘वावु फोक्सोको बिरामीले केएमसी अस्पतालमा र छोरालाई भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउन थालियो ।’ हाल वावु मनिराम त बिशेक भएका छन् । तर छोरा प्रविणको अवस्था नाजुक र दयनीय बनेको छ ।

प्रविणलाई उपचार गराउँदा ७ लाख रुपैंयाँ बढी खर्च भईसकेको आफन्तको भनाई छ । शुरुमा काठमाण्डौंस्थित केएमसी अस्पतालमा उपचार गराईएको प्रविणलाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा रेफर गरियो । तर ठीक भएन । अप्रेशन गर्न नमिल्ने गरी आमाशयमा क्यान्सर भएको डाक्टरले बताए । मासिक ९० हजार रुपैंयाँ उपचार खर्च मात्र ब्यहोर्दै ४ महिना उक्त अस्पतालमा राखिएपछि अस्पतालले नै निकाल्न सुझाव दिए ।

‘ ४५ हजार रुपैंयाँका दरले महिनामा २ पटक किमो चढाउँदै राख्नुपर्ने रहेछ तर किमोकै भरमा मात्र बाँच्ने, दीर्घकालिन उपचार नहुने ।’ आफन्त खविराज राई भन्छन्–‘त्यसरी त के खर्च मात्र गरिराख्नु भनेर डाक्टरले नै हस्पिटलबाट निकाल्नु भनेको रे ।’

अहिले प्रविणलाई ललितपुर सातदोवाटोस्थित ‘अन्तिम बिकल्प’ नामक स्वासथ्य संस्थामा आयुर्बेदिक पद्दतीको उपचार गराईराखिएको जनाईएको छ । आयुर्वेदिक पद्दतीको उपचारले १० महिनामा ठीक बनाउने आश्वासन दिएको आफन्तले जनाएका छन् । आयुर्बेदिक पद्दतीको उपचारमा पनि महिनामा ४५ हजार रुपैंयाँ बढीको औषधी उपचार खर्च लाग्ने जनाईएको छ ।
यता, प्रविणको वावा–आमा दुवै बोलौं न चुप लागौं अवस्थामा छन् । बोलौं उपचार गराउने पैसा छैन, नबोलौं एक छोरा नै सर्वस्व हो । उपचारका क्रममा ऋणमा डुवेका उनीहरु छोराको जीवन रक्षाका लागि सहयोगका हात फैलाईरहेका छन् ।
प्रविणको फुपु बिरस राईका अनुसार प्रबिणको उपचारका लागि चरम आर्थिक समस्या भएको छ । बचाउन सकिने आश भए पनि पैसाको जोहो गर्न अत्यन्तै समस्या भएको उनको भनाई छ । सबैले सहयोग गरी प्रबिणलाई बचाईदिन आफन्तको आग्रह छ ।
‘प्रविण बचाउँ’ भन्दै देशविदेशमा रहेका खार्मीबासी, जिल्लाबासी तथा आफन्त–शुभचिन्तकहरु अभियानमा जुटेका छन् । उनको जीवन रक्षार्थ सहयोगका लागि एनआईसी एसिया बैंकमा खाता सञ्चालन गरिएको छ । प्रविण बचाउनका लागि उक्त बैंकको खाता नम्बर (एच ००२०१५४१४५५२४०१) मा सकेको सहयोग रकम जम्मा गर्न सकिने आफन्त सन्तोष राईले जनाउनुभयो ।

। पीडित प्रविणलाई नयाँ जीवन दिन सकिने अभियन्ताहरुको आत्मविश्वास छ । भन्छन्–‘ हामी सवै जुट्यौं भने जुनै हालतमा पनि प्रविणलाई बचाउन सकिन्छ ।’