खोटाङ असार–१५,   १ नम्बर प्रदेश सांसद राजन राईले बजेट सिलिङ ढिलो आउँदा बिकासमा बाधा पुग्ने बताउनुभएको छ । प्रदेश अन्र्तगतको बजेट सिलिङ यस बर्ष ढिलो आएको सन्दर्भमा स्वभाविक रुपले बिकासमा प्रभाव पार्ने सांसद राईले स्विकार्नुभयो ।

आर्थिक बर्षको अन्त्यतिर मात्र सिलिङ आएका कारण केही हदसम्म बजेट खर्च नभई फ्रिज हुने अवस्था आएको खोटाङका सांसद राईको भनाई छ । ‘अव बजेट कम खर्च हुने स्थिती छ ।’ उहाँले भन्नुभयो–‘तर यो संक्रमण फ्रेज भ’को हुनाले हो, तर अव यो चालु आर्थिक बर्षदेखि समयमै बजेट आउँछ भन्नेमा म बिश्वस्त छु ।’

राज्य नयाँ संरचनामा गएको कारण बजेट सिलिङ ढिलो आएको प्रदेश सांसदले स्पष्ट पार्नुभयो । ‘केन्द्रीय सरकार र स्थानीय निकायको संरचनाबाट हाल स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार भएको छ ।’ सरकारलाई उद्यृत गर्दै उहाँले सुनाउनुभयो–‘अहिले चााहीँ सरकारकै रुपमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार भ’को हुनाले अलिकती त्यसको ब्यवस्थापन गर्न, कर्मचारीको ब्यवस्थापनका कारणले ढिलो भएको भन्ने सरकारको कुरो छ ।’ तथापी ८० प्रतिशत बजेट खर्च गर्न सकिने सरकारको दावी भएको उहाँले सुनाउनुभयो । सरकारको दावी पूरा हुनेमा आफु आशावादी रहेको समेत राईले खुलाउनुभयो ।

प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको समग्र बजेट अनुरुप कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिईएको छ । जसअनुरुप नै खोटाङमा पनि कृषि लगायत सडक, पुल, खेलमैदान जस्ता भौतिक पूर्वाधारका पक्षलाई समेट्दै पर्यटनलाई समेत प्राथमिकता दिईएको प्रदेश सांसदले जनाउनुभयो । नुन्थलास्थित महुरेगढी प्राविधिक शिक्षालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपामा निर्माण गर्न लागिएको संसारकै सबैभन्दा अग्लो र ठूलो यलम्बरको मुर्तीसहितको यलम्बर पार्क लगायतमा प्रदेशले उल्लेख्य बजेट छुट्याएको सांसद राईको भनाई छ ।

यस्तै, १ नम्बर प्रदेश सरकारले खोटाङ र भोजपुरको सिमास्थलका भुभागमा पर्ने उत्कृष्ट सय गन्तब्यका रुपमा नेपाल सरकारले महत्व दिएको नयाँ पर्यटकीय रुट ‘मुन्धुम ट्रेल’का लागि समेत राम्रै बजेट बिनियोजन गरेको जनाईएको छ । प्रदेशको बजेट समग्रतामा आए पनि सबै अंक उल्लेख गरिएको बजेट हालसम्म आएको छैन ।