खोटाङ असार–१३, खोटाङको पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेन । जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको मिति असार–१० गतेभित्र सो कार्य नसकेको हो ।

असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाले भने तोकिएकै मितिमा नगर तथा गाउँसभा सम्पन्न गरेको छ ।

साकेला गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेटको सम्पूर्ण तयारी पूरा गरे पनि विद्युत प्राधिकरणका कामले गाउँपालिका प्रमुख काठमाडौं जानुपर्ने भएकाले १० गतेभित्र गाउँसभा गर्न नसकेको जनाएका छन् । उक्त गाउँपालिकाले असार १७ गते गाउँसभा गर्ने तयारी गरिएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताउनुभयो ।

समायोजनले कर्मचारी अभाव हुँदा र तयारी नपुग्दा असार १६ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । उक्त गाउँपालिकास्थित तीन वडा सचिवविहीन रहेका छन् ।

वडामा पठाइएको ‘सिलिङ’अनुसार योजना बनाएर ल्याउन ढिला भएकाले रावाबेँसी गाउँपालिकाको गाउँसभा पनि असार १६ गतेका लागि सारिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो ।

बराहपोखरी गाउँपालिकाको असार १५ गते गाउँसभा गर्ने तयारी गरिएको उपप्रमुख गोमा मगरले बताउनुभयो । गाउँसभाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

जन्तेढुङ्गा गाउँपालिकाको भने अहिलेसम्म टुङ्गो लागेको छैन । असार २० गतेतिर नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंको भनाई छ ।