खोटाङ असार–१०,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस आर्थिक बर्षमा विकासका पूर्वाधार विस्तार र पहुँच बस्ती स्तरसम्म पु¥याउने लक्ष्य लिएको छ । आर्थिक बर्ष २०७६/०७७ मा संस्थागत विकास र सेवा प्रवाह तथा क्षमता विकासमा समेत ध्यान दिएर बजेट तथा कार्यक्रम तयार पारिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

मंगलबार दिक्तेलवजारमा सम्पन्न तेश्रो नगरसभाले ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ । दिगो र गुणस्तरीय पूर्वाधार विकास, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने नगरपालिकाको लक्ष्य भएको नगरप्रमुख रिजालको भनाई छ । यस आर्थिक बर्ष विभिन्न वर्ग, लिंग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेसी र समन्यायिक विकास गर्ने तथा नगरपालिकाद्वारा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको उहाँको भनाई छ । समृद्ध, समुन्नत र अर्गानिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने लक्ष्यकासाथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको रिजालले सुनाउनुभयो ।

तेश्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले सङ्घीय सशर्त कार्यक्रमतर्फ ३२ करोड ५६ लाख र प्रादेशिक सशर्त कार्यक्रमतर्फ २ करोड २५ लाख बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख राईका अनुसार चालु खर्चतर्फ १२ करोड ५६ लाख ७७ हजार ३९ रुपैयाँ र वडागत चालुतर्फ ९६ लाख ३६ हजार, कार्यालयका लागि पूजिँगत खर्च ६५ लाख तथा बिशेष कोषतर्फ ४५ लाख रुपैंयाँ बिनियोजन भएको छ । सङ्घीय तथा प्रदेश सरकारको सहलगानीमा सञ्चालन हुने आयोजनाहरुको लागि समपुरक कोषहरुतर्फ २ करोड ५० लाख, संघ र प्रदेशबाट प्राप्त निर्माणाधिन योजनाहरुका लागि भूक्तानी दिन बाँकी १ करोड ८२ लाख ३२ हजार १६ रुपैया विनियोजन गरेको बार्षिक बजेट प्रस्तुत उपप्रमुखले प्रस्तुत गर्नुभयो ।
यस्तै, विषयगततर्फ पूर्वाधार विकास क्षेत्रमा विभिन्न आयोजनाको डिपिआर निर्माणका लागि ५० लाख, क्रमागत आयोजनाका लागि ४ करोड रुपैंयाँ र यलम्बरको मूर्ति स्थापनाको लागि २ करोड ६५ लाख बिनियोजन भएको जनाईएको छ । वडास्तरीय पूर्वाधार विकासतर्फ २ करोड ९८ लाख ८७ हजार, सामाजिक विकासतर्फ सामाजिक सुरक्षाभत्ता १६ करोड, उपप्रमुखसँग महिला कार्यक्रमका लागि ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै, शैक्षिक सुधारका लागि २३ करोड ८६ लाख ५३ हजार, स्वास्थ्य क्षेत्रको लागि ४ करोड ८९ लाख २१ हजार, वडास्तरीय सामाजिक विकासतर्फ १ करोड ४५ लाख ७२ हजार ७ सय ४ विनियोजन भएको छ । आर्थिक विकास क्षेत्रका लागि २ करोड ९९ लाख ४५ हजार, वन वातावरण तथा सरसफाईतर्फ ३३ लाख १९ हजार १ सय १४ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि २० लाख ८९ हजार ८ सय ४८ रुपैयाँ विनियोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक आयतर्फ १ करोड ८५ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँड तर्फबाट अनुमानित १२ करोड १० लाख रुपैंयाँ प्रक्षेपण गरेको छ । वित्तीय समानिकरण अनुदान १४ करोड ५७ लाख र सशर्त अनुदानतर्फ ३२ करोड ५६ लाख र अन्य अनुदानतर्फ (सामाजिक सुरक्षा) १५ करोड आय हुने प्रक्षेपण गरेको बताईएको छ । प्रादेशिक सरकार राजस्व बाँडफाँडतर्फ अनुमानित १ करोड ९५ लाख, वित्तीय समानीकरण अनुदान ७५ लाख ८५ हजार र सशर्त अनुदानतर्फ २ करोड ९६ लाख ८४ हजार आय हुने नगरपालिकाले अनुमान गरेको छ ।