खोटाङमा पहिलो पटक फुटबल लिग शुरु, खेलाडीहरु उत्साहित

खोटाङ असार–२, खोटाङमा पहिलो पटक फुटबल लिग शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै खोटाङ जिल्ला फुटबल संघले सोमबारदेखि फुटबल लिगको आयोजना गरिएको हो ।

जिल्लामा फुटबल खेल शुरु भएको लामो समय पश्चात एन्फाको सदस्यता प्राप्त गरेसँगै आयोजना गरिएको लिगमा जिल्ला फुटबल सङ्घमा आवद्ध दश क्लवले सहभागिता जनाएका छन् । जम्मा २१ खेल हुने लिग दिक्तेलबजारको माटिकोरे खेलमैदानमा असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको लिग प्रतियोगितामा हलेसी तुवाचुङ फुटबल क्लव, खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस क्लवले विजयी शुरुवात गरेको छ । हलेसी तुवाचुङ फुटबल क्लव हलेसी र नमुना स्पोर्टस क्लव लफ्याङबीच सोमबार बिहान भएको पहिलो खेलमा शुन्यको विरुद्ध एक गोल गर्दै हलेसी तुवाचुङ फुटबल क्लवले विजयी यात्रा शुरु गरेको हो ।

दोस्रो खेलमा ३–३ गोल गर्दै सोल्मा स्पोर्टस क्लव र बुइपा ईलाभेन स्पोर्टस क्लवले बराबरी अङ्क बाँडेको छ । भगवती स्पोर्टस क्लव खोटाङबजार र खोटाङ फुटबल एकेडेमीबीच भएको तेस्रो खेलमा शुन्यको विरुद्द एक गोल गर्दै खोटाङ फुटबल एकेडेमी विजयी भएको छ ।

बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टस क्लव खार्मीबीच भएको अन्तिम खेलमा एकका विरुद्ध ४ गोल गर्दै खारम्बु स्पोर्टस क्लव विजयी भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको लिग फुटबल प्रतियोगिताबाट दुई समुह रेलिगेशनमा पर्ने (बाहिरिने) आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो ।
समूह विजेता बन्न सफल दुई समूहले फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगको समूह (ए)मा भगवती स्पोर्टस क्लव, खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लव, नमूना स्पोर्टस क्लव र नुनथला स्पोर्टस क्लव रहेका छन् । लिगको समूह (बी) मा बाक्सिला फुटबल क्लव, खारम्बु स्पोर्ट्स क्लव, सोल्मा स्पोर्टस क्लव, बुइपा ईलाभेन स्पोर्टस क्लव र जन्तेढुङ्गा फुटबल क्लव रहेका छन् ।

प्रत्येक समूहमा २० जना खेलाडी र ५ जना अफिसियल रहनुपर्ने प्रावधान बनाइएको छ । जिल्लामा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्य समेत राखिएको फुटबल लिगमा सहभागी हुने खेलाडी जिल्लाभित्रको मात्रै राखिएको छ । जिल्लामै पहिलो पटक लिग प्रतियोगिता खेल्न पाएकोमा खेलाडीहरु उत्साहित बनेका छन् ।

दिक्तेलबजार हाल फुटबलमय बनिरहेका छन् । उक्त लिग सम्पन्न हुन साथै बिद्यालय स्तरीय फुटबल प्रतियोगिता शुरु गरिने आयोजकले जनाएका छन् ।