खोटाङ असार–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कम्पोष्ट मल र वायोग्याँस प्लाण्टको काम सुरु गरेको छ । नेपाल सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा नगरपालिकाको–२ नम्बर वडामा पर्ने सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लाण्टको काम सुरु गरेको हो ।

दिक्तेलबजार, सोल्मा लगायतका स्थानबाट निस्कने सड्ने–गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर वायोग्याँस उत्पादन गर्दै अर्गानिक नगर बनाउने अभियानलाई सफल बनाउन कम्पोष्ट मल र वायोग्याँस प्लाण्टको काम सुरु गरिएको हो । कम्पोष्ट मल र वायोग्याँस प्लाण्ट निर्माणका लागि आवश्यक ट्रस भवन आईतबार मेयर दिपनारायण रिजालले शिलान्यास गर्नुभएको छ ।

उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहोरमैलालाई मलकै रुपमा प्रयोग गर्ने मेयर रिजालले बताउनुभयो । कम्पोष्ट मल र वायोग्याँस प्लाण्टका लागि आवश्यक ६ रोपनी जग्गामध्ये २ रोपनी जग्गा कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले निशुल्क उपलव्ध गराउनुभएको छ ।