खोटाङ जेठ–३०, समावेसी सिद्धान्त विपरित लोकसेवा आयोगको विज्ञापन खुलाइएको भन्दै खोटाङबाट उक्त विज्ञापन खारेजीको माग गरिएको छ । संविधानको मर्म, भावना, सिद्धान्त र प्रस्तावना विपरित खुलाइएको विभेदकारी विज्ञापनलाई तुरून्त फिर्ता माग गर्दै बिभिन्न संघसंगठनले विहिबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र पठाएका छन् ।

नेपाल आदिबासी जनजाती महासंघ, दलित विकास मञ्च, अपांग सेवा संघ लगायतका संघसंगठनले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । आयोगले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो ।

गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेसी र धर्मनिरपेक्षता संविधानको मुल आधार स्तम्भ भए पनि समावेशी सिद्धान्तलाई लत्याएर आयोगको विज्ञापन खुलाइएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । उक्त संघसंगठनहरुले आयोगको विज्ञापन खुलाउने क्रममा भएका त्रुटी सच्याएर संविधानमा व्यवस्था भए अनुशार समानुपातिक समावेशी सिद्धान्त बमोजिम आरक्षण सहितको विज्ञापन खुलाउन सरकार समक्ष आग्रह गरेको छ ।

सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा आदिबासी जनजाती, मधेसी, दलित, थारु, मुस्लिम, महिला, पिछडिएका क्षेत्र लगायत सीमान्तकृत समुदायलाई राज्यको प्रशासनिक संरचनामा समानुपातिक समावेसीकरणको ठोस नीति तथा कार्यक्रम अवलम्वन गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । त्यस्ता समुदाय तथा क्षेत्रका पहिचान, मौलिक परम्परा, भाषा, संस्कार संस्कृतिको संरक्षण, प्रवद्र्धन, विकासका लागि ठोस कार्यक्रम नल्याई वर्तमान सरकार विभेदकारी कदमतिर उद्यत भएको ध्यानाकर्षण–पत्रमा जनाईएको छ ।

नेपालको राजनैतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा असमानताको अन्त्यका लागि केही प्रतिशत आरक्षणको व्यवस्था भए पनि वर्तमान सरकारले खोस्ने र उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाईएको छ ।