खोटाङ जेठ–३०, खोटाङमा सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीबाट वितरण सुरु गरेपछि ठूलो मात्राको रकम फिर्ता हुन थालेको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा बैकबाट सुरक्षा भत्ता बितरण गर्दा १ लाख २० हजार रुपैंयाँ भन्दा बढि रकम फिर्ता भएको हो ।

गत चैतदेखि सालपा बिकास बैंकको शाखा कार्यालय चिसापानीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि एक लाख २० हजार ८ सय रकम फिर्ता भएको बताईएको छ । सामाजिक सुरक्षाभत्ता वितरणलाई पारदर्शी बनाउन वडा कार्यालयले बैंकमार्फत भुक्तानीको व्यवस्था मिलाएको थियो ।

वडामा चार–चार महिनामा एकमुष्ट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकामा यस अवधिमा मृत्यु भएका, नाम दोहोरिएका र लगत कट्टा गरिएका १८ जनाको नामको सामाजिक सुरक्षाभत्ता फिर्ता भएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

वडासँगको सहकार्यमा घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ताका लागि खाता खोलेको र हिँडेर बैंकसम्म आउन नसक्ने अशक्तलाई घरैमा लगेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको सालपा बिकास बैंकका विभागीय प्रमुख दिपकर राईले सुनाउनुभयो ।

वडाका ४ सय ६५ जनाका लागि २६ लाख ६७ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो । वितरण गर्दै जाँदा १८ जनाको नामको रकम फिर्ता भएको जनाईको छ ।