
खोटाङ, २० माघ । शैक्षिक तथा भौतिक बिकासकालागि आर्थिक श्रोत जुटाउन सर्वधर्म धार्मिक महोत्सवको तयारी गरेको खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले कलश पदयात्रा सञ्चालन गरेको छ ।

शान्ति कलश सदस्यता बितरण महोत्सवसम्मै जारी रहने क्याम्पसले जनाएको छ । २०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नकालागि श्रोत जुटाउन धार्मिक महोत्सब गर्न लागिएको क्याम्पस प्रमुख प्राध्यपक डा. शुकराज राईले बताए ।
क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि ‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो अभियान, कार्यक्रम बिस्तार एबं गुणस्तर सुधार हाम्रो अभियान’ भन्ने नारासहित सर्वधर्म महोत्सब सञ्चालन गर्ने तयारी गरिएको हो । १०८ राष्ट्र शान्ति धार्मिक महोत्सबका संकल्पकर्ता गोबिन्दशरण महाराजजीको उपस्थितिमा हुने धार्मिक महोत्सवका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबी रिजालको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय महोत्सब मूल आयोजक समिति गठन भइसकेको छ । सर्वधर्म महोत्सब सञ्चालनकालागि माटिकोरेमा माघ १० गते सचिवालय स्थापना गरिसकिएको छ ।
त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि दिक्तेल क्याम्पसमा पहिलोपल्ट मानबिकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । यस शैक्षिकसत्रबाट समाजशास्त्रतर्फको कक्षा सुरु गर्ने तयारी भएको क्याम्पसमा धार्मिक महोत्सवबाट जम्मा हुने रकमबाट अन्य संकायतर्फका बिषय थप गरिने प्राध्यपक डा. राईले बताए । ‘दिक्तेल बहुमुखी क्याम्पससँगैका क्याम्पसले शिक्षाका क्षेत्रमा फड्को मारिसकेको छ, हाम्रो क्याम्पस अरुभन्दा पछि प¥यो,’ प्राध्यपक डा. राईले भने, ‘शैक्षिक कार्यक्रम थप गर्न र शैक्षिक गुणस्तर बृद्धिकालागि चाहिने रकम संकलन गर्न धार्मिक महोत्सब गर्न लागिएको हो ।’
क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिकालागि आर्थिक अभाव भएकाले धार्मिक महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका निर्देशक बिष्णुकुमार राईले बताए । ‘मुलुककै नमूना क्याम्पस बनाउनकालागि उत्तिकै श्रोत आवश्यक पर्ने रहेछ,’ निर्देशक राईले भने, ‘त्यो श्रोत जुटाउने उपयुक्त माध्यम धार्मिक महोत्सव ठानिएकाले तयारी गरिएको हो ।’