खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्माण गरिएको कच्ची सडक स्तरोन्नतीको माग गरेका छन् । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको माग गरेका हुन् ।
 उदयपुर हुँदै तराईबाट त्रि–धार्मिकस्थल हलेसी आवत जावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गकारुपमा उपयोग गर्न सकिने सम्भावना बोकेकाले दुर्छिमका स्थानीयले प्रदेश नम्बर १ का सांसद राजन राई समक्ष सडक स्तरोन्नतीको माग राखेका हुन् । निर्माण गरेको लामो समयसम्म मर्मत तथा स्तरोन्नती गर्न नसकिएकाले उपभोक्ताकातर्फबाट प्रदेश सांसदलाई गुहार माग्नु परेको उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले बताए । 
‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको सडक उदयपुरबाट सगरमाथा पुग्ने छोटो मार्गकारुपमा बिकास गर्न सकिने सम्भावना समेत रहेकाले स्तरोन्नतीका लागि प्रदेश सांसद समक्ष माग गरिएको उपभोक्ता समितिले जनाएको छ । स्थानीयको पहलमा निर्माण गरिएको सो सडक प्रदेशमै ‘स्थानीय सहभागितामा समृद्धि’ हासिल गर्ने नयाँ अभ्यासकारुपमा स्थापित गर्न सकिने भएकाले प्रदेश सरकारले स्वामित्व ग्रहण गरेर समाजसेवी तथा स्थानीय उपभोक्तालाई प्रोत्साहित गर्न नमुना योजनाका रुपमा प्रस्तु गर्न सकिने मागपत्रमा उल्लेख छ । 
‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने भावनाकासाथ स्थानीयको सहभागितामा ५५ लाख ९३ हजार १५० रुपैयाँको लागतमा निर्माण गरिएको सो सडक २०७२ साल जेठ ९ गते उदघाटन गरिएको थियो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा जोडिने सडक ओखलढुङ्गा हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने छोटो मार्गकारुपमा पनि स्थापित गर्न सकिने सम्भावना गरेको निर्माण उपभोक्ता समितिको दाबी छ । पहिलोचरणमा २०६९ साल चैत्र ५ गतेदेखि २०७० साल जेठ ९ गतेसम्म छापडाँडादेखि ढोडेनीसम्म र दोश्रो चरणमा २०७१ साल चैत्र १८ गतेदेखि २०७२ साल बैसाख ९ गतेसम्ममा सुनकोसीको बतासेसम्म बिस्तार गरिएको सडक हाल मर्मत एबं स्तरोन्नतीको पखाईमा रहेको छ । 
आफ्नो श्रम र पसिनाले निर्माण गरिएको गाउँको सडकको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि स्थानीयले २०७३ सालदेखि हरेक वर्ष होलेसुङ–जनकराज राई मार्ग गोल्डकप सञ्चालन गर्दैआएको छ ।