खोटाङ जेठ–२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको सचिवमा मनोनित रामप्रसाद दंगालले आफुलाई जिम्मेवारी सुम्पिने बबी चाम्लिङको त्यागलाई सम्मान गर्नुभएको छ । नेतृत्व छनौट कार्यदलले चाम्लिङलाई जिल्ला सचिब पदमा मनोनयन गरे पनि दोहोरो जिम्मेवारीमा नबस्ने भन्दै राजिनामा गरी त्याग गर्नुभएको भन्दै उहाँलाई सम्मान गर्नुभएको हो ।

चाम्लिङले ठूलो मुटु बनाएर आफुलाई सचिबमा मनोनयन गराएको भन्दै धन्यबाद दिनुभएको छ । ‘चाम्लिङले मलाई भँगेराको मुटु नभई हात्तीको मुटु बनाएर जिम्मेवारी सुम्पनु भयो ।’ उहाँले भन्नुभयो–‘म उहाँ प्रति आभारी छु ।’
जिल्ला समन्वय समितिको प्रमुख समेत रहेको भन्दै चाम्लिङले सपथ खाएको भोलिपल्टै पार्टीको पदबाट राजीनामा दिएपछि दंगाललाई सचिवमा मनोनित गरिएको हो ।

नेकपाको १ नम्बर प्रदेश कमिटिले चाम्लिङको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा जिल्ला कार्यालय सदस्यमध्ये बरिष्ठताका आधारमा दंगाललाई मनोनित गर्ने निर्णय गरेको हो ।
नेकपाको प्रदेश कमिटि सदस्य समेत रहनुभएको चाम्लिङ जिल्ला समन्वय समिति महासंघको १ नम्बर प्रदेश कमिटिको अध्यक्ष लगायतको जिम्मेवारीमा हुनुहुन्छ ।

‘पद ओगटेर बस्नुभन्दा जिम्मेवारी सुम्पिनु राम्रो भएकाले राजिनामा दिएको हुँ ।’ चाम्लिङको भनाई छ–‘पार्टीको नेतृत्व विकासमा अन्य नेताहरुलाई अवसर दिन पनि पद त्याग गरेको छु ।’
पार्टी एकता टुंग्याउने क्रममा पूर्व माओवादी केन्द्रलाई अध्यक्ष र पूर्व एमालेलाई सचिव तोकेपछि चाम्लिङ सचिवमा मनोनित गरिएको थियो ।

चाम्लिङको राजीनामा स्वीकृत गरेर सो स्थानमा दंगाललाई मनोनयन गर्ने जेठ १६ गतेको जिल्ला कमिटिको निर्णयलाई प्रदेश कमिटिले पनि अनुमोदन गरेको हो ।

हाल मनोनित पूर्ब एमाले उपाध्यक्ष दंगालले पार्टीले दिएको जिम्मेवारी ईमान्दार साथ पूरा गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।