खोटाङ जेठ–१९, शैक्षिक भ्रमणमा जाँदा पौडी खेल्ने क्रममा मृत्यु भएका दुई बिद्यार्थीका आफन्तले खोटाङमा आन्दोलनलाई चर्को बनाएका छन् । शैक्षिक अवलोकन तथा प्रयोगात्मक भ्रमणका क्रममा डुबेर ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयका विद्यार्थीका आफन्तले चर्का नाराबाजी, जुलुस तथा बिरोधलाई तीब्रता दिएका छन् ।

शनिबार साप्सुखोलामा पौडी खेल्ने क्रममा ज्यान गुमाएका सव–ओभरसियर अध्ययनरत विद्यार्थीका आफन्तले क्षतीपुर्ती तथा कारबाहीको माग गर्दै आईतबार नारा जुलुस सहित दिक्तेलबजार परिक्रमा गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षिय मृतक विक्रम भट्टराई र १९ वर्षकै एलिस बस्नेतका आफन्तले दिक्तेलबजारका पसल समेत बन्द गराएका थिए । घटना भएकै दिन शबलाई पोष्टमार्टम घरमा राख्न अवरोध गरेको आफन्तले बार्तामा समेत उचित सम्बोधन नभएको भन्दै आन्दोलन चर्काएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा भएको वार्तामा सम्मानजनक सम्बोधन नभएको भन्दै आफन्तले प्रशासनकै अगाडि हस्ताक्षर समेत संकलन गरेका छन् । प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जनाइएको छ ।

मृतक बस्नेतका मामा बिनोद बस्नेतका अनुसार उचित क्षतीपुर्ती दिनुपर्ने, मृतकको भाई÷बहिनिलाई प्राविधिक शिक्षालयमा निःशुल्क अध्ययनको अवसर दिनुपर्ने, मृतकको स्मृतिमा कोष खडा गर्नुपर्ने लगायतका माग पीडित पक्षले राखेका छन् । पीडित पक्षले मागेको रकम प्राविधिक शिक्षालयका सञ्चालकले दिन नसक्ने बताएपछि वार्ता निष्कर्ष बिहिन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

विद्यार्थीको मृत्यू भएपछि जिल्ला शोकमग्न बनेको छ । नेपाल कम्यूनिष्ट पार्टी(ने.क.पा.) र नेपाली कांग्रेस खोटाङले शोक मन्तब्य जारी गरी श्रद्दाञ्जली तथा समबेदना ब्यक्त गरेका छन् ।
ने.क.पा. खोटाले मृतकका आफन्तको मागप्रति संबेदनशील भई छानबिन गरी सत्य–तथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई ध्यानाकार्षण समेत गराएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here