खोटाङ जेठ–१८, शैक्षिक भ्रमणमा जाँदा पौडी खेल्ने क्रममा दुई बिद्यार्थीको मृत्यु भएपछि मृतकका आफन्तले शिक्षालय सञ्चालकमाथि कार्वाहीको माग गरेको छ । शैक्षिक अवलोकन तथा प्रयोगात्मक भ्रमणका क्रममा डुबेर ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयका विद्यार्थीका आफन्तले उक्त शिक्षालय सञ्चालकमाथि कार्वाही हुनुपर्ने माग गरेका हुन् ।

प्राविधिक शिक्षालयले शनिबार भ्रमणका लागि लगेको समयमा पौडी खेल्दा दुई विद्यार्थीको डुबेर मृत्यु भएको हो । सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षिय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको आफन्तले मृतकका शव पोष्टमार्टम घरमा राख्नमा अवरोध गरेका छन् । प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको बताइएको छ ।

घट्नास्थलबाट शव जिल्ला अस्पतालको पोष्टमार्टम घर अगाडि ल्याइएपनि आफन्तले शव राख्न दिएका छैनन् । ट्याक्टरमा ल्याइएको शव अहिले पनि पोष्टमार्टम घर अगाडि राखिएको छ ।

यसैबीच, नेपाल कम्यूनिष्ट पार्टी(ने.क.पा.) खोटाङले घटनाप्रति शोक ब्यक्त गरेको छ । पार्टीले शनिबार एक शोक विज्ञप्ती जारी गर्दै घटनाले स्तब्ध बनेको जनाएका छन् । जिल्ला अध्यक्ष देवान चाम्लिङ(पृथ्वी) ले हस्ताक्षर गरी जारी गरिएको शोक विज्ञप्तीमा मृतकका आफन्तले उठाएका मागप्रति संबेदनशील हुन आग्रह गरिएको छ ।

विज्ञप्तीमार्फत घटनाको छानविन गरी सत्य तथ्य पत्त लगाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराईएको छ ।