खोटाङ जेठ–१८, छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तर्गत खोटाङमा सहभोजको आयोजना गरिएको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन जिल्ला समन्वय समितिले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा सहभोजको आयोजना गरेको हो ।

जातीय विभेदका विरुद्धमा सचेतना अभिबृद्धिका लागि सहभोजको आयोजना गरिएको जिसस प्रमुख बबी चामलीङले बताउनुभयो । प्रदेशले थालेको छुवाछुतमुक्त समाज निर्माण अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको चाम्लिङको भनाई छ ।

सहभोज कार्यक्रममा जिल्ला न्यायधिस, राजनीतिक दलका प्रमुख, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, अधिकारकर्मी नागरिक समाज लगायत दलित तथा गैर दलित समुदायको सहभागिता थियो । कार्यक्रमका अतिथिले जातीय बिभेदको अन्त्य ‘आफु’बाट सुरु गर्नुपर्ने धारणा राखेका छन् ।