खोटाङ जेठ–१८, खोटाङमा शैक्षिक भ्रमण गएका दुई विद्यार्थीको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ । दिक्तेल प्राविधिक शिक्षालयबाट शनिवार बिहान शैक्षिक भ्रमणका लागि साप्सु कालिका हाइड्रोपावर पुगेका दुई विद्यार्थीको डुवेर मृत्यु भएको हो ।

भ्रमणका क्रममा साप्सुखोलामा पौडी खेल्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय विक्रम भट्टराई र १९ बर्षकै एलिश बस्नेतको मृत्यू भएको प्रहरीले जनाएको छ । मृतक दुवै जना शवओभरसियरका विद्यार्थी रहेको प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो ।

हाईड्रोपावर भ्रमण तथा अवलोकनका लागि लैजाँदा हाईड्रोपावर भन्दा तीन किलोमीटर माथी भागेर पौडी खेल्न गएपछि डुवेर मृत्यु भएको विद्यालयका सञ्चालक सिताराम राईले जनाउनुभयो ।

विद्यालयले ३५ जना विद्यार्थीलाई भ्रमणमा लगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।