खोटाङ जेठ–१४,  खोटाङमा सम्पन्न राष्ट्रब्यापी साकेला सिली प्रतियोगितामा जिल्लाकै साकेला गाउँपालिका–२ रतन्छाले प्रथम स्थान ओगटेको छ । मंगलबार सम्पन्न सिली प्रतियोगितामा बिभिन्न जिल्ला तथा जिल्ला वाहिरबाट सहभागी २० समुहलाई पछि पार्दै उक्त समुह प्रथम बनेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा सोही नगरपालिका–३ बाम्राङ दोश्रो, वडा नम्बर–६ नेर्पा तेश्रो र वडा नम्बर–११ खार्मीले सान्तवना स्थान लिएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाले आयोजना गरेको प्रतियोगितामा प्रथम समुहले नगद १ लाख रुपैंयाँका साथमा ट्रफी र प्रमाण प्राप्त गरेको छ । यस्तै, दोश्रोले ७५ हजार, तेश्रोले ५० हजार र सान्तवना हुने समुहले २५ हजार रुपैंयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेतालाई बिशेष प्रकारले निर्माण गरिएको चिण्डो समेत प्रदान गरिएको आयोजकले जनाएका छन् ।

विजयी समुहलाई प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ)ले पुरस्कार प्रदान गर्नुभएको संयोजक सिताराम राईले बताउनुभयो । ऐतिहासिक प्रथम राष्ट्रब्यापी प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेको जिल्लाबासी उपस्थित भएका थिए । प्रतियोगिताको उद्घाटनमा प्रदेश सभा सदस्य उषाकला राई, पूर्व सांसद लगायत जिल्लाका जनप्रतिनिधिहरुको उपस्थिती थियो ।

उद्घाटनका दिन विप्लव समुहका बन्दका कारण टुंगो लागेको कतिपय सिली समुह सहभागी हुन नसकेको आयोजकले जनाएका छन् । किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, उमेश राई(फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतले आफ्ना प्रस्तुति दिएका थिए ।
समाबेश गरिएको छ ।