खोटाङ जेठ–१३,   प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको बन्दका कारण खोटाङको शैक्षिक संस्था तथा यातायात सेवा प्रभावित बनेको छ । प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा आव्हान गरेको बन्दका कारण जिल्लाका सार्वजानिक तथा नीजि विद्यालयहरु बन्द भएका छन् । नेत्रबिक्रम चन्द(विप्लव) समुहका बन्दका कारण विद्यालय खुल्न नसक्दा विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।

आव्हान गरिएको बन्दले गर्दा जिल्लावाट छुट्ने लामो दुरीको यातायात सेवा सञ्चालन भएको छैन । स्थानीय रुपमा यातायातका साधनहरु सञ्चालन भए पनि काठमाण्डौं लगायतका शहरहरु जाने बस नछुटेको खोटाङ यातायात प्रालिका महासचिब राम हिङमाङले बताउनुभयो । यातायातका साधन सञ्चालन नहुँदा सर्बसाधारण यात्रु मारमा परेका छन् ।

जिल्लाबाट लामो दुरीको यातायातका साधन नछुटे पनि काँकडभिट्टा लगायत लामो दुरीबाट जिल्लाका लागि छुटेका बसहरु जिल्ला भित्रिरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्यायले बताउनुभयो । उक्त समुहको अघिल्लो बन्दहरु भन्दा तुलनात्मक रुपमा यो बन्दले प्रभाव पारे पनि अवस्था सामान्य रहेको प्रजिअ उपाध्यायको भनाई छ ।