खोटाङ जेठ–१३, खोटाङमा आज सोमबार राष्ट्रब्यापी साकेला सिली प्रतियोगिताको उद्घाटन हुन लागेको छ । किरात राई समुदायको घनाबस्ती रहेको जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा प्रदेश सभाषद रामकुमार राई(पासाङ)ले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाले आयोजना गरेको ऐतिहासिक साकेला सिली प्रतियोगिता भोलिसम्म जारी रहने छ । का लागि आर्थिक तथा भौतिक ब्यवस्थापकीय तयारी पूरा गरिएको संयोजक सिताराम राईले बताउनुभयो । दोर्पा चिउरीडाँडामा आयोजना हुने प्रतियोगितमा उदयपुरको दुई समुह, भोजपुर तथा मोरङका एक–एक समुहले सहभागिता जनाउनेछन् । उक्त जिल्ला बाहेक खोटाङका १९ समुह गरी जम्मा २३ समुहले प्रतियोगितामा सहभागिता जनाउने टुंगो लागेको छ ।

किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको आयोजकको भनाई छ । साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार रुपैंयाँका साथमा प्रमाणपत्र प्रदान गरिने छ । बिजेतालाई मुर्तिकार रोजन राईले निर्माण गर्नुभएको बिशेष प्रकारको वावु(चिण्डो) समेत प्रदान गरिने जनाईएको छ ।

यदी बाहिरी जिल्लाका सहभागीले कुनै पनि स्थान ओगट्न नसकेको खण्डमा बस भाडा स्वरुप नगद १०/१० हजार रुपैंयाँ प्रदान गरिने आयोजकले तयारी गरेको छ । तर, प्रतियोगितामा राखिएको कुनै पनि पुरस्कार जितेको खण्डमा उक्त ब्यवस्था नगरिने आयोजकले स्पष्ट पारेका छन् । टाढाबाट सहभागी बनेका समुहलाई खाना तथा बासको समेत आयोजकले ब्यवस्था गरेको छ ।

कार्यक्रमलाई भब्यता दिलाउन वरिष्ठ गायक तथा संगीतकार जीतेन राई लगायतको राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत राखिएको संयोजक सिताराम राईले जनाउनुभयो । कार्यक्रममा पछिल्ले समय चर्चित उमेश राई(फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतका कलाकारहरुको प्रस्तुति रहने किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पा चिउरीडाडाँले जनाएको छ ।