खोटाङ जेठ–१२, पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषामा पठनपाठन गराउनका लागि पाठ्यपुस्तक तयार पारिएको छ । नाछिरिङ भाषामा पठनपाठन गराउन तयार पारिएको पाठ्यपुस्तक आईतबार काठ्माण्डौंमा औपचारिक कार्यक्रम गरी विमोचन गरिएको हो ।

राष्ट्रिय गानका सर्जक व्याकुल माईला, भाषाविद डा. तारामणि राई लगायतले नाछिरिङ राई भाषामा तयार पारिएको कक्षा १ को पाठ्यापुस्तक विमोचन गर्नुभएको हो । सोलुखुम्बु र खोटाङका नाछिरिङको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषाबाट पठन–पाठन गर्नका लागि तयार पारिएको पाठ्यपुस्तक ए–वान पार्टी प्यालेस, चावहिलमा सार्वजनिक गरिएको हो ।

किरात रदु नाछिरिङ साखाम केन्द्र काठ्माण्डौंले प्रकाशन गरेको पाठ्यपुस्तक रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यापुस्तक लेखन समितिले तयार पारेको हो । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहास लगायतको संरक्षण एबं संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गर्न लागिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो । पहिलो चरणमा सोलुखुम्बूको सोताङ गाउँपालिकाका ५ विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको तीन विद्यालयमा भाषिक पठन–पाठन सुरु गर्न लागिएको साखामले जनाएको छ ।

नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि समितिले पाठ्यक्रम तयार पारिसकेको छ । भाषाविद् डा. तारामणि राईको सहयोग र समन्वयमा पाठ्यक्रम निर्माण समिति तथा नाछिरिङ भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला÷गोष्ठी पश्चात पाठ्यक्रमलाई अन्तिम रुप दिइएको हो ।

नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यकासाथ पाठ्यक्रम निर्माण गरिएको जनाईएको छ ।
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक संखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम लगायतका जिल्लामा नाछिरिङ राईको वसोवास रहेको छ । यस्तै, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर तथा प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।
२०६८ सालको जनगणना अनुसार नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको साखामले जनाएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here