खोटाङ जेठ–११, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमीबजारका अग्नी पीडितलाई सहयोग प्रदान भएको छ । गत जेठ ८ गते राती भएको आगलागीमा लाखौंको क्षती ब्यहोरेका अग्नी पीडित रामकेश राई र रविनारायण श्रेष्ठलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले सहयोग प्रदान गरेको हो ।

प्राकृतिक प्रकोपमा परेका जिल्लाबासीलाई तत्कालै सहयोग गर्दै आएका कोषले अग्नी पीडित राईलाई ७ हजार र श्रेष्ठलाई ३ हजार सहयोग प्रदान गरेको जनाईएको छ । अग्नी पीडितलाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले शनिबार राहत हस्तान्तरण गर्नुभएको कोषका कोषाध्यक्षमा युगसन किरातले बताउनुभयो ।

स्थानीय डम्बर खड्काको घरमा होटल तथा पसल सञ्चालन गर्दै आएका राईलाई गाउँपालिकाले पनि ५० हजार र श्रेष्ठलाई २० हजार प्रदान गरेको छ । यस्तै, वडाध्यक्ष पूर्ण खड्का, स्थानीय मोहन राई, लक्ष्मीकुमार राई लगायत पञ्चमीबजारबासीको पहलमा संकलन भएको ६६ हजार १ सय २० रुपैयाँ अग्नी पीडित राईलाई प्रदान गरिएको थियो ।

आगलागीमा खड्काको पूर्ण क्षती र श्रेष्ठको घरमा आंशिक क्षती पुगेको थियो । आगोले खड्काको घर जल्दा १३ लाख, सोही घरमा व्यवसाय गर्दै आएका राईको नगद १ लाख, होटल तथा पसलका सामान जल्दा ३ लाख क्षती भएको प्रहरीले जनाएको छ ।