खोटाङ, २५ । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले देशको राष्ट्रियता, अखण्डता र स्वाधिनताको सवालमा आइपर्ने जस्तोसुकै परिस्थितिमा बिचलित नहुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सोमबार (हिजो) खोटाङमा शसस्त्र प्रहरी बल हलेसी गुल्म उद्घाटन गर्दै शसस्त्र प्रहरी महानिरिक्षक राईले देशको सेवाकाक्रममा आइपर्ने दुःख र संघर्षका क्रममा कहिल्यै बिचलित नहुन शसस्त्र प्रहरीका जवानलाई निर्देशन दिएका हुन् । नेपाली सेनाको हेलीकोप्टरबाट दिक्तेल आएका राईले सबै जवानलाई मेहनत गर्न र दुःखमा हरेश नखान आग्रह गरे । भोजपुरको नागीमा जन्मिएर भैंसी, गाई र भेडा गोठाला गर्दै शसस्त्र प्रहरीको उच्च पदमा पुगेको आफ्नै उदाहरणबाट प्रेरणा लिन जवानलाई निर्देशन दिएका छन् ।
सरकारी सेवाबाट अवकाश पाउन लागेका राईले आफुलाई चखेवाडाँडामा भैंसी गोठालो गरेर आईजिपी बन्ने पहिलो र अन्तिम व्यक्ती भएको दाबी गरे । शसस्त्र प्रहरी महानिरिक्षक राईले सँगै कार्यक्रममा आएका शसस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक प्रकाश ओझा लगायतका आईजिपीका आकांक्षीहरुलाई शुभकामना दिए । अवकाश प्राप्त जीवन गाउँ फर्किएर विताउने योजना रहेको राईले सुनाए । शसस्त्र प्रहरी महानिरिक्षक राईले अधिकांश समय आफ्नो बाल्यकालका रमाईला घटनाहरु सुनाएर हँसाएका थिए । राईले गुल्मकालागि निशुल्क जग्गा दिने जग्गादातालाई सम्मान गरेका छन् ।