खोटाङ जेठ–११, पहिचानवादी लेखक तथा साहित्यकार राजन मुकारुङलाई सम्मान गर्ने तयारी गरिएको छ । यही जेठ १३ र १४ गते खोटाङमा हुन लागेको राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगिताको अवसरमा लेखक तथा साहित्यकार मुकारुङलाई सम्मान गर्ने आयोजकको तयारी रहेको छ ।

किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाले आयोजना गर्न लागेको साकेला सिली प्रतियोगिताको अवसरमा मदन पुरस्कार विजेता टेम्के मयुम गाउँपालिका भोजपुरका साहित्यकार मुकारुङलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको आयोजक समितिको संयोजक सिताराम राईले जनाउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा हुने ऐतिहासिक कार्यक्रममा साहित्यको माध्यमबाट आफ्नो समुदायप्रति पु¥याउनुभएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गर्न लागिएको संयोजक राईको भनाई छ ।

दमिनी भीर नामक कृतिबाट मदन पुरस्कार प्राप्त राजन मुकारुङको हेत्छाकुप्पा लगायतका चर्चित कृतिहरु प्रकाशन भएका छन् ।

प्रतियोगितमा उदयपुरको दुई समुह, भोजपुर तथा मोरङका एक–एक समुहले सहभागिता जनाउनेछन् । उक्त जिल्ला बाहेक खोटाङका १९ समुह गरी जम्मा २३ समुहले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार रुपैंयाँका साथमा प्रमाणपत्र प्रदान गरिने छ । बिजेतालाई मुर्तिकार रोजन राईले निर्माण गर्नुभएको बिशेष प्रकारको वावु(चिण्डो) समेत प्रदान गरिने जनाईएको छ ।

यदी बाहिरी जिल्लाका सहभागीले कुनै पनि स्थान ओगट्न नसकेको खण्डमा बस भाडा स्वरुप नगद १०÷१० हजार रुपैंयाँ प्रदान गरिने आयोजकले तयारी गरेको छ ।

कार्यक्रमलाई भब्यता दिलाउन वरिष्ठ गायक तथा संगीतकार जीतेन राई लगायतको राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत राखिएको संयोजक सिताराम राईले जनाउनुभयो । कार्यक्रममा पछिल्ले समय चर्चित उमेश राई(फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतका कलाकारहरुको प्रस्तुति रहने किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पा चिउरीडाडाँले जनाएको छ ।