
खोटाङ जेठ–११, माझकिरातका नामले परिचित खोटाङमा आयोजना हुन लागेको राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगिताको तयारी पूरा भएको छ । किरात राई समुदायको घनाबस्ती रहेको जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा यही १३ र १४ गते हुने ऐतिहासिक प्रतियोगिताको तयारी पूरा भएको हो ।
किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाले आयोजना गरेको साकेला सिली प्रतियोगिताका लागि आर्थिक तथा भौतिक ब्यवस्थापकीय तयारी पूरा गरिएको संयोजक सिताराम राईले बताउनुभयो । प्रतियोगिताको सहभागी समुह तथा साँस्कृतिक कलाकार टोली ब्यवस्थापन, मञ्च ब्यवस्थापन, समय ब्यवस्थापन, स्वयमसेवक ब्यवस्थापन लगायतका तयारी गरिएकोे संयोजक राईको भनाई छ ।
दोर्पा चिउरीडाँडामा आयोजना हुने प्रतियोगितमा उदयपुरको दुई समुह, भोजपुर तथा मोरङका एक–एक समुहले सहभागिता जनाउनेछन् । उक्त जिल्ला बाहेक खोटाङका १९ समुह गरी जम्मा २३ समुहले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको आयोजकको भनई छ । साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार रुपैंयाँका साथमा प्रमाणपत्र प्रदान गरिने छ । बिजेतालाई मुर्तिकार रोजन राईले निर्माण गर्नुभएको बिशेष प्रकारको वावु(चिण्डो) समेत प्रदान गरिने जनाईएको छ ।
यदी बाहिरी जिल्लाका सहभागीले कुनै पनि स्थान ओगट्न नसकेको खण्डमा बस भाडा स्वरुप नगद १०/१० हजार रुपैंयाँ प्रदान गरिने आयोजकले तयारी गरेको छ । तर, प्रतियोगितामा राखिएको कुनै पनि पुरस्कार जितेको खण्डमा उक्त ब्यवस्था नगरिने आयोजकले स्पष्ट पारेका छन् । टाढाबाट सहभागी बनेका समुहलाई खाना तथा बासको समेत आयोजकले ब्यवस्था गरेको छ ।
कार्यक्रमलाई भब्यता दिलाउन वरिष्ठ गायक तथा संगीतकार जीतेन राई लगायतको राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत राखिएको संयोजक सिताराम राईले जनाउनुभयो । कार्यक्रममा पछिल्ले समय चर्चित उमेश राई(फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतका कलाकारहरुको प्रस्तुति रहने किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पा चिउरीडाडाँले जनाएको छ ।
हाल जिल्लाबासी किरात तथा गैरकिरात सबैको मन उक्त कार्यक्रमतिर मोडिएको पाईएको छ ।