नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्याक्रम निर्माण एवम् पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । 
किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न ८ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा र मोरङ जिल्लाबाट बोलाइएका पुर्खाको सहयोगमा वर्ण निर्धारणको काम शुरु गरिएको उपाध्यक्ष राईको भनाइ छ । 
पुर्खासँगको छलफल र बहसबाट मंसिर १४ गतेसम्म स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारणका कामलाई निरन्तरता दिएर अन्तिममा भाषाविद् डा. तारामणी राईको सहयोगमा बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइने किरात रदु नाछिरिङ साखाम (केन्द्र)ले जनाएको छ । वर्ण निर्धारणका लागि खोटाङका शिक्षक रामकुमार राई, रमेश राई र सोलुखुम्बुका शिक्षक निरकुमार राईले सहजीकरण गरिरहेका छन् । 
वर्ण निर्धारणको काम सम्पन्न गरे लगत्तै मङ्सिर १५ गते किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिवेशन धरानमै गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम हुन सकेको थिएन ।