खोटाङ जेठ–१०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि खेलमैदान निर्माण सुरु गरिएको छ । लफ्याङको तल्लो भेग छिवा भन्ने स्थानमा निःशुल्क प्राप्त भएको जग्गामा वडा कार्यालयले खेलमैदान निर्माण गर्न सुरु गरेको हो ।
ईलाभेन साईजको फुटबल खेलमैदानको लागि स्थानीय पञ्चशेर राईबाट ९ रोपनी, सर्बजीत राईबाट ५ रोपनी, हर्कराज राईबाट साँढे ३ रोपनी र बालाचन्द्र राईबाट ७ रोपनी जग्गा प्राप्त भएको छ । जग्गादाताहरु पञ्चशेर, सर्बजीत र हर्कराज राईले जिल्ला मालपोत कार्यालयमार्फत वडा कार्यालयको नाममा जग्गा पास गराईदिईसकेको वडा अध्यक्ष निर्मल राईले बताउनुभयो ।
१ सय २० मिटर लम्बाई र ८० मिटर चौडाई रहने ‘रणजितमान खेलमैदान’को औपचारिक शिलन्यास वडाध्यक्ष तथा वडाका जनप्रतिनिधिहरुले गरेको निर्माण उपभोक्ता समितिका सचिब काजिमान राईले जनाउनुभयो । रणजितका छोरानातीबाट निःशुल्क जग्गा प्राप्त भएपछि उक्त खेलमैदानको नाम ‘रणजितमान खैलमैदान’ राखिएको सचिब राईले स्पष्ट पार्नुभयो ।
खेलमैदान निर्माणका लागि यो बर्ष १२ लाख ७० हजार रुपैंयाँ रकम वडा कार्यालयबाट बिनियोजन गरिएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि अन्य स्थानीय तहसँग समेत समन्वय भईरहेको जनाईएको छ । हाईवेमा पर्ने उक्त खेलमैदान निर्माणका लागि देशबिदेशमा रहने खेलप्रेमी तथा शुभचिन्तकहरुबाट समेत सहयोगको अपेक्षा गरिएको निर्माण उपभोक्ता समितिले जनाएका छन् ।
खेलमैदानलाई वडा अर्थात नगरपालिकाको भनेर सिमित नगरी समग्र जिल्लाको साझा खेल मैदान बनाउने बताईएको छ ।