खोटाङ २५ माघ । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको खानीडाँडा बिमानस्थलमा नियमित उडानको प्रबन्धका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
आयोगका सचिव बेदप्रसाद भट्टराई नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा बिमानस्थलमा अधिकांश उडान रद्ध हुने गरेको पाइएको भन्दै आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले बिमानस्थलमा उडान रद्ध नहुने व्यवस्थाका लागि प्रशासनलाई निर्देशन दिएको हो ।
बिमानस्थलमा अधिकांश उडान रद्ध हुँदा यात्रुले अनाहकमा ओहोर–दोहोर गर्दै सास्ती बेहोर्नु परिरहेको भन्दै आयोगले यथोचित समाधानकालागि प्रशासनलाई पत्राचार गरेको जनाएको छ ।
आयोगले सदरमुकाम दिक्तेलदेखि खानीडाँडा बिमानस्थल जोड्ने सडकको स्तरोन्नतीका लागि पनि आवश्यक कदम चाल्न प्रशासनलाई निर्देशन दिएको छ ।
बिमानस्थल प्रमुख तथा सेवाग्राहीसँग छलफल गरेर आयोग प्रशासनलाई पत्राचार गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय मानव अधिकार आयोगका निमित्त उपक्षेत्रीय निर्देशक दीपक घिमिरेले बताए ।