खोटाङ जेठ–७, खोटाङमा आयोजना हुन लागेको राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगितामा राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरु प्रस्तुति समेत रहने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा यही १३ र १४ गते हुने प्रतियोगितामा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई लगायतको कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

जिल्लाकै इतिहासमा भब्य तयारी गरिएको राष्ट्रिय स्तरको प्रतियोगितालाई थप ऐतिहासिक बनाउन कलाकार टोली समेत निम्त्याईएको हो । गायक तथा संगीतकार राईसँगै उमेश राई(फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतका कलाकारहरुको प्रस्तुति रहने प्रतियोगिताको संयोजक सीताराम राईले बताउनुभयो । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले अयोजना गरेको सिली प्रतियोगितामा जिल्ला तथा उदयपुर, मोरङ, भोजपुर लगायतका साकेला सिली समुहले सहभागिता जनाउने संयोजक राईले सुनाउनुभयो ।

किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको प्रतियोगितामा हालसम्म १५ टिमले सहभागिताको लागि दर्ता गराएको आयोजकले जनाएका छन् । करिब १७ समुह सहभागी हुने अनुमान गरिएको छ ।

साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिने आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटिले जनाएको छ । बिजेतालाई मुर्तिकार रोजन राईले निर्माण गर्नुभएको बिशेष प्रकारको वावु(चिण्डो) समेत प्रदान गरिने जनाईएको छ । सहभागी सबै समुहलाई खाना तथा बासको समेत आयोजकले ब्यवस्था गरेको छ ।

युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि सिली प्रतियोगिताको आयोजना गरिएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here