
खोटाङ जेठ–४,
माझकिरात खोटाङमा एक महिनासम्म मनाईने उभौली चाड धुमधामका साथ सुरु भएको छ । किरात राई यायोक्खा खोटाङको आयोजनामा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी पुगेर साकेला सिली नाच्दै उभौलीको विधिवत सुरु भएको हो ।
अबको एक महिनाभर किरात बस्ती ढोल, झ्याम्टा तथा गीतले गुञ्जायमान बन्ने किरात राई यायोक्खाका उपाध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । पछिल्लो समय बिशेषगरी युवा पुस्ता साकेला सिली नाचमा सहभागी हुने गरेको किरात साँस्कृतिक अभियन्ताहरु बताउँछन् ।
साकेला चाडको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला सिली नाच्ने प्रचलन छ ।
साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ ।
किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तील रहेको छ ।