खोटाङ, २७ माघ । खोटाङमा खोटेहाङ गाउँपालिकाको केन्द्र परिवर्तनको विरोधमा स्थानीयले विरोधसभा गरेका छन् ।
स्थानीय तह पुर्नसंरचना आयोगले प्रस्ताबित खोटेहाङ गाउँपालिकाको केन्द्र परिवर्तन गरेको विरोधमा ईन्द्रेणीपोखरी, सिम्पानी, लिच्कीराम्चे, चिप्रिङ लगायतका स्थानीयले विरोध सभा गरेका हुन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले खोटेहाङ गाउँपालिकाको केन्द्र इन्द्रेणीपोखरी बनाउन सिफारिस गरेकामा आयोगले सो निर्णय उल्टाउँदै खोटाङबजारलाई केन्द्र बनाएकोमा स्थानीयले आन्दोलन चर्काएका हुन् ।
जिल्लाबाट सिफारिस गरिएको स्थानीय तहको खाकालाई यथावत कार्यान्वयन गर्नुपर्ने पक्षमा दवाव सिर्जना गर्नकालागि स्थानीयले मंगलबार इन्द्रेणीपोखरीमा विरोधसभा गरेका हुन् । विरोधसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक देवान किरातीले संघीयता नचाहने व्यक्ति नै अहिले आएर आफ्नै आँगनलाई गाउँ पालिकाको केन्द्र बनाउन चलखेल गरिरहेको आरोप लगाए । स्थानीय तह पुनःसंरचनाको विषयमा असन्तुष्टी जनाउँदै माघ ३ गतेदेखि केही समयकालागि ईन्द्रेणीपोखरी, सिमपानी, लिच्कीराम्चे र चिप्रीङ गाबिसका सरकारी कार्यालय पूर्णरुपमा ठप्प पारेका स्थानीयले पछिल्लोपल्ट विरोधसभा गरेका हुन् ।
आयोगले सरकारलाई स्थानीय तहको प्रतिबेदन बुझाएपछि उनीहरु चरणवद्ध आन्दोलनमा छन् ।
‘जिल्लामा कृयाशिल बहुमत राजनीतिक दलको धारणा केन्द्र इन्द्रेणीपोखरी हुनुपर्छ भन्ने थियो,’ नयाँ शक्ति नेपालका अभियान्ता ईन्द्र नारथुंगेले भने, ‘तर लोकतान्त्रिक पद्धतिमा बहुमतको निर्णयलाई बेवास्ता गर्दै अर्कै स्थानलाई केन्द्र तोकेको हुँदा यस भूगोलका जनता आन्दोलित भएका हुन् ।’