खोटाङ ४ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत विभेद छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ ।

तर, तपाई हलेसी तुवाचुङ नगरपालिकास्थित वडा–३ च्यास्मिटार, बालम्बारी पुग्नु भयो भने कसैले सरकारी योजनाको पानी पिइरहेको त कसैले पिउन नै नपाएको दृश्य देख्न सक्नुहुन्छ । त्यो पनि २२ घरधुरी रहेको बालम्बारीमा चार घरधुरीको उपस्थितिमा आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी पिइरहेका छन् भने अन्य १८ घर परिवारलाई पुरै वञ्चित गरिएको छ ।

४ घरधुरीबाट पानीको विभेदमा परेका १८ घर परिवार मध्येका एक सदस्यले आफूहरुले पानी माग्दा हामीलाई मात्र आएको भन्दै नदिएको गुनासो गरे । ‘सरकारी बजेट सही सदुपयोग हुनपर्यो, १८ घर परिवार वञ्चित हुने चार परिवारले मनोमानी गर्ने भएन’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।

चार घर परिवार मिलेर बालम्बारी खानेपानी योजना नामक उपभोक्ता समिति गठन गरेका थिए । उनीहरूले पुरै गाउँको सहमतिमा समिति गठन भएको भन्दै वडा अध्यक्ष भलाराज राईलाई नगरपालिका समक्ष सिफारिस गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षले पनि सिफारिस गरेको पाइएको छ । तर, समितिमा भने चार परिवारका नातागोता मात्र राखिएको पाइएको छ, गाउँको सहमति पनि नगरेको र योजना ल्याएपछि पानी खान पिउन पनि नदिएको पाइएको छ । वडा अध्यक्ष भलराज राईले आफूले खानेपानीमा विवाद रहेको र मिलाउन पहल गर्दा नसकेको बताए । ‘उहाँहरुले उपभोक्ता समिति गठन गरेर आउनु भयो, मैले त गाउँ मिलेर नै होला भनेर नगरपालिकामा सिफारिस गरे, तर पछि बजेट निकासापछि मात्र थाहा पाएँ, गैरकानुनी ढंगले समिति गठन गर्नु भएको छ, मलाई यसमा फसाइयो हजुर ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने । वडा अध्यक्ष राईले आफूले मिलाउन पहल गर्दा नसकेपछि न्यायिक समितिमा सिफारिस गरेको जनाए ।

सब इन्जिनियर अग्निराज राईले तयार पारेको लागत रकम अनुसार खानेपानी योजनाको लागत १० लाख ९५ हजार २ सय ५ राखिएको छ । त्यसमा नगरपालिकाबाट ८ लाख ८८ हजार ६ सय ५४ रहेको छ भने लाभग्राहीबाट २ लाख ६ हजार ५ सय ५० राखिएको छ । नगरपालिकाले बजेट किस्तामा उपलब्ध गराउनुपर्नेमा एकैचोटी रकम उपलब्ध गराएको स्रोत बताउँछ । विवाद सिर्जना हुनुमा नगरपालिकाको उच्च नेतृत्व पनि संलग्न रहेको स्थानीयले आशंका गरेका छन् ।