खोटाङ जेठ–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पम्प्लेट टाँसेका छन् । वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले ७ नम्बर वडामा पर्ने दोर्पा चिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।

‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सहि सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने मुख्य सूचना सहितको सामाग्री ६ सय १० घरको भित्ता–भित्तामा टाँसिएको स्वयमसेवक मानबहादुर भुजेलले जनाउनुभयो । वडाबाट परिचालित स्वयमसेवक भुजेलका अनुसार उक्त सन्देशमूलक सामाग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी उल्लेख गरिएको छ ।

सन्देश सामाग्रीमा सीपतालिमको महत्व, कागजपत्रको महत्व र सुरक्षा, भरपाई तथा प्रमाण, पूनः श्रम स्विकृति, नेपालकै बिमानस्थल प्रयोग गर्नुपर्ने र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाहरुको बारेमा जानकारी गराईएको छ । यसबाहेक अन्य प्राबिधिक लगायत जानकारीमूलक सूचना तथा सन्देशहरु समेत उक्त पर्चामा उल्लेख गरिएको छ ।

वडा कार्यालयको यस्तो गतिबिधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित बन्नमा मद्दत पु¥याउने आप्रवासी श्रोत(सूचना) केन्द्र दिक्तेलले जनाएको छ । यस्तो प्रकारको सूचना तथा सन्देशमूलक कार्य सबै स्थानीय तहका सवै वडाले गर्नु उचित देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका सुरक्षित आप्रवासन परियोजना(सामी)का कार्यक्रम संयोजक ओजोनबावु आचार्यले बताउनुभयो ।

हरेक घरमा यस्तो सूचना पु¥याएपछि परिवारको सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफै हेर्ने वा सुन्ने गर्ने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने संयोजक आचार्यको भनाई छ ।