खोटाङ जेठ–२, खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारी सम्बन्धी प्रोफाईल निर्माण सुरु गरेको छ । पालिकाभित्र वैदेशिक रोजगारीको अवस्था सम्बन्धी सम्पुर्ण जानकारी समेट्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उदेश्यले प्रोफाईल निर्माण सुरु गरेको बताईएको छ ।
प्रोफाईल निर्माणका लागि पालिकाभित्र रहेका सातै वटा वडामा एकै साथ सम्बन्धित तथ्याङ्क संकलन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी)को प्राविधिक सहयोगमा निर्माण हुने प्रोफाईलको तथ्याङ्क संकलन पश्चात सोही तथ्याङ्कको आधारमा प्रोफाईल तयार गरिेने सामीका कार्यक्रम संयोजक ओजोनबावु आचार्यले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका कार्यक्रम संयोजक आचार्यका अनुसार पालिकाको सातै वडामा सुचना प्रविधिको माध्यमबाट मोबाइल एप्समा तथ्याङ्क संकलन गरिनेछ । गाउँपालिकामा निर्माण भएको प्रोफाइलकै आाधारमा वैदेशिक रोजगार सम्बन्धी अन्य कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको छ ।