खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई पुर्वबिद्यार्थीको समुहले शुक्रबार आर्थिक सहयोग गरेको हो ।
 २०५२ सालमा सरस्वती माबिबाट एसएलसि उत्तिर्ण गरेका बिद्यार्थीको फेसबुक ग्रुपका माध्यमबाट संकलन भएको १ लाख ५६ हजार ८ सय ५० रुपैयाँ रकम प्रअ ध्यानबहादुर राईले अग्नी पीडित शिक्षकलाई हस्तान्तरण गर्नुभएको हो । सरस्वती माबिका अग्नी पीडित शिक्षकलाई पहिलो चरणमा ४१ जनाबाट संकलन भएको राहत प्रदान गरेको पुर्वबिद्यार्थीले थप राहत रकम संकलन भइरहेको जनाएको छ । हाल स्वदेश तथा बिदेशमा संकलन भइरहेको राहत रकम केही समयपछि अग्नी पिडितलाई हस्तान्तरण गरिने पुर्वबिद्यार्थी छत्र थापाले बताउनुभयो । 
मंसिर १० गते मात्र सरस्वती माबिका विद्यार्थी, शिक्षक, पुर्वशिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले ३ लाख ९१ हजार ७ सय २० रुपैयाँ राहत रकम प्रदान गरेको थियो । रत्नपार्कका अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र तीन घरमा आंशिक क्षती पुगेको थियो । आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रबिध्वज राई, राजु श्रेष्ठ र नबिन गुरुङको घरमा क्षती पुगेको छ । रबिध्वज दोश्रोपल्ट अग्नी पीडित भएका हुन् ।