खोटाङ बैशाख–२४, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले १ नम्बर प्रदेशको नाम ‘किरात प्रदेश’ राख्दा कसैले आपत्ति मान्नु नपर्ने बताउनुभएको छ । मंगलबार किरात राई यायोक्खा खोटाङको आठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष राईले किरात शब्दले नेपालको सभ्यता, भूगोल र युगलाई बुझाउने भएकाले प्रदेशको नामाकरणमा कसैले डर वा आपत्ति मान्नुपर्ने कारण नभएको बताउनुभएको हो ।

अध्यक्ष राईले किरातलाई नेपालको सभ्यता, युग र भूगोलका रुपमा बुझिने भएकाले किरात प्रदेश राख्ने क्रममा कसैले त्रास मान्नुपर्ने कारण नभएको जनाउनुभयो । शुभम फाउण्डेसनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राईले यायोक्खाले ‘राई’ नामाकरण मागेको नभएकोले पनि कोही–कसैले त्रास मान्नु पर्ने कारण नभएको स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेशको नाम किरात नभए कोसी किरात वा सगरमाथा किरात भएपनि स्वीकार्य हुने बताउनुभएको छ । तर, किरात नसमेटिए प्रदेशको नामाकरण मान्य नहुने जनाउनुभयो ।

यस्तै, यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेलीले प्रदेशको नामाकरणका क्रममा यायोक्खाको माग सम्बोधनमा आशंका कायम रहेकाले आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी बक्ताहरुले १ नम्बर प्रदेशको नाममा किरात राखिनुपर्ने धारणा राखेका छन् ।

उद्घाटित यायोक्खाको जिल्ला अधिबेशन बुधबार समापन हुने आयोजकले जनाएका छन् ।