काठमाडौं । खोटाङको बुईपामा जन्मिएका युवा कवि डि अनुरागीको कविता संग्रह ‘संगतीका धारले रेटिएका फूलहरु’ सार्वजनिक भएको छ । उनको यो पहिलो कविता कृति हो ।
रावासावा प्राज्ञिक समाजले आयोजना गरेको संग्रह विमोचन कार्यक्रममा श्री चम्पावती उमावि बुईपाका पूर्व शिक्षक तथा अग्रज साहित्यकार शुभसेर राईले कवि अनुरागीलाई बधाई दिएका छन् । प्रमुख अतिथि रहेका राईले कविको कविता यथार्तमा आधारित दस्तावेज भएको बताएका छन् ।

यस्तै कार्यक्रमका विशेष अतिथि अग्रज कवि जसराज किरातीले कविको आगामी दिनको बाटो फराकिलो भएको बताए । यो एक महान यात्रामा निस्किने आँट गरेकामा उनले कविको प्रशंसा समेत गरेका छन् । नातामा आफ्नो सहोदर भदा रहेको समेत बताउँदै किरातीले भने, ‘तर उसले कविता लेख्छ भन्ने कहिल्यै थाहा पाईन ।’
कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पस खोटाङका पुर्व क्याम्पस प्रमुख डाक्टर शुकराज राईले कवि अनुरागीको कविताले विसंगतीका भावहरुलाई मुखरित गरेको बताए । उनले कार्यक्रममा फरक प्रसँग भन्दै रावासावा प्राज्ञिक समाजलाई सबैले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

उनले यस्तो सँस्थालाई उपयोग मात्र गर्न खोजिने तर सहयोग चाहिँ नगर्ने हो भने संस्था जिवित रहन गार्हो हुने बताएका छन् । सिंगो कविताको समालोचना गर्दै कवि तथा लेखक भागवत आचार्यले कविको कवित्वका बारेमा टिप्पणी गरेका छन् । उनले कविको लेखनलाई हेर्दा परिपक्वता देखिएपनि पूरा भने हुन नसके जस्तो लाग्ने बताए। ‘केही राम्रा छन्। केही सुधार गर्न जरुरी छ’ उनको भनाई थियो।

यसै गरि विमोचन कार्यक्रमकै अवसरमा रावासावा प्राज्ञिक समाजको आजीवन सदस्यता लिने घोषणा समेत गरिएको छ । कवि धनध्वज राई डि अनुरागी, डा सुकराज राई, कवि जसराज किराँती, कवि तथा अग्रज व्यक्तित्व शुभसेर राई, कवि तथा साहित्यकार भागवत आचार्य, युवा कवि गोपाल राई, प्राध्यापक तथा कवि टीका श्रेष्ठले आजीवन सदस्यता लिने घोषणा गरेका छन् ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष डा धनप्रसाद सुवेदीले गरेका थिए भने संचालन महासचिव चन्द्र रानाहँछाले गरेका हुन् । कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि तथ साहित्यानुरागीहरुको व्यापक उपस्थिति रहेको थियो ।