हलेसीमा बस दुर्घटना, एकको मृत्यु ६ गम्भिर (बिवरणसहित अपडेट)

खोटाङ बैशाख–३, खोटाङको हलेसी मन्दिर नजिकै बस दुर्घटना हुँदा एक जनाको मृत्यु तथा ६ जना गम्भिर घाईंते बनेका छन् । काठमाण्डौंबाट खोटाङका लागि छुटेको बस गए राती साँढे ११ बजे मन्दिर नजिकै पर्ने रिठ्ठाबोटे भीरमा दुर्घटना हुँदा खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाको ३३ बर्षिय पर्जबहादुर राईको मृत्यु भएको हो ।

ना ४ ख ७४११ नम्बरको बस दुर्घटना हुँदा घाईंते बनेका राईलाई उद्दार गरी दिक्तेलतर्फ लैजाने क्रममा घटनास्थल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ । १५ जना सवार बस सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित ६ जना गम्भिर तथा अन्य सामान्य घाईंते बनेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

गम्भिर घाईंते हुनेमा खोटाङस्थित बराहपोखरी गाउँपालिका–१ जीमिगाउँका बिष्णुकुमार राई, हलेसी तुवाचुङ नगपालिका–१० अर्खौलेका दुर्गाबहादुर मगर, बेनका नगरपालिका उदयपुरका सुरेन्द्र राई रहेका छन् । यस्तै, बस चालक चाँगुनारायण नगरपालिका भक्तपुरका २६ बर्षिय टिकाराम खत्री, उमाकुण्ड गाउँपालिका–५ रामेछापका महादोर्जे लामा र उनकी श्रीमति लबकुमारी लामा गम्भिर घाईंते बनेको प्रहरीले बताएको छ ।

गम्भिर घाईँतेहरुलाई उपचारको लागि काठमाण्डौंको टिचिङ अस्पताल पु¥याईएको छ ।
यस्तै, दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका २९ बर्षिय ओजोनबाबु आचार्य, सोही नगरपालिका–३ बाम्राङका २४ बर्षिय सुजन रम्तेल र १७ बर्षिय आशिष राई घाईंते बनेका छन् । घाईते हुनेमा खोटाङकै साकेला गाउँपालिका–१ का २६ बर्षिय भीमबहादुर बुढाथोकी, सोही स्थानका ३० बर्षिय साजन कटुवाल, केपीलासगढी गाउँपालिका–१ का मैना राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ओमन राई र कञ्चनरुपा नगरपालिका–११ सप्तरीका भुपेन्द्रप्रसाद चौधरी रहेका छन् ।
घाईतेहरुलाई स्वास्थ्य चौकी दुर्छिममा सामान्य उपचार गरी जिल्ला अस्पताल दिक्तेलतर्फ पठाईएको प्रहरीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका पवन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाका युवराज श्रेष्ठको भने अति सामान्य अवस्था रहेको स्थानीय पत्रकार टिवन राईले सुनाउनुभयो ।

कोटेश्वरबाट दिनको २ बजे छुटेको सुनकोसी सगरमाथा यातायात कम्पनी अन्तर्गत चल्ने बस ओखलढुंगाको हर्कपुरमा बेलुकीको खाना खाएर दिक्तेलतर्फ लागेको स्थानीयको भनाई छ । हलेसी मन्दिरदेखि करिब सय मिटरअगाडी पर्ने उकालो घुम्तीबाट बस पछाडी खसेको पत्रकार राईले बताउनुभयो ।