
खोटाङ बैशाख–२, खोटाङको खार्मीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने खार्मीको कोतिकामा सोमबार दिउँसो आगलागी हुँदा स्थानीय भीमबहादुर तामाङ र टंकनाथ तामाङको घर जलेर नष्ट भएको हो ।
दिउँसो करीब १ बजेबाट लागेको आगोले तामाङद्वयको खरको छाना भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
आगलागीमा भीमबहादुरको सात लाख ८८ हजार र टंकनाथको दुई लाख रुपैंयाँ बढीको क्षति भएको प्रहरीले जनाएका छन् ।
आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि तामाङ परिवार बिचल्लीमा परेका छन् । घरमा लागेको आगोलाई स्थानीयबासीले दुई घण्टा लगाएर नियन्त्रणमा लिएको छ ।