काठमाडौं ।
पछिलो समय निक्कै चर्चित र विवादित रहेको पब्जी खेललाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । पछिल्लो समय बालबालिका, किशोर किशोरी लगायतले बढी मात्रामा यो खेल खेल्ने गरेको र समाजमा आत्महत्या जस्ता घटना समेत हुन थालेपछि सरकारले खेल प्रतिबन्ध गरेको हो ।
केन्द्रिय प्रहरी ब्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आ–आफ्नो नेटवर्कमा पब्जी डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गरेसँगै यो खेल खेल्न नसकिने बताइएको छ । मनोचिकित्सकहरूका अनुसार यो खेलले मानवलाई हिंसा तिर धकेलिरहेको छ । केही समय अगाडि छिमेकी मुलुक भारतका केही सहरमा खेललाई प्रतिबन्धित लगाइसकेको र गुजराँतमा यो खेल खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको खबर भारतीय मिडियामा आएको थियो ।

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल खेल खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो ।

पब्जीले मानसिक समस्या निम्त्याएको अनुसन्धानबाट खुल्न आएको हुँदा छिटो भन्दा छिटो बन्द गर्नुपर्ने मनोचिकित्सक तथा विज्ञहरूले सुझाव दिएका थिए । यसैलाई आधार लिएर नेपालमा पब्जी खेल प्रतिबन्धित भएको छ ।

केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो । अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पोर्न साइटमा पनि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशनका कारण अहिले नेपालमा पोर्न साइटहरु प्रतिबन्धित छन् । पब्जी बन्दसँगै यसका प्रयोगकर्ता दुःख बनेका छन् भने अभिभावकले भने खुसी व्यक्त गरेका छन् ।