खोटाङ खोटाङ–२५, खोटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना १ ज ७४४७ नम्बरको जीप रावाबेँसी गाउँपालिका–३ चिउरीबासमा सोमबार दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय नीरकुमार राईको घटनास्थलमै मृत्यु भएको हो ।

घर छाउने क्रममा शनिबार लडेका नीरकुमारलाई जीपमा चढाएर थप उपचारका लागि स्वास्थ्यचौकी लामीडाँडा लैजानेक्रममा बाटैमा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । चालक सहित तीन जना सवार जीप दुर्घटना हुँदा ४५ वर्षीय चालक गोपाल राई र जीपमा सवार ४६ वर्षीय प्रकाश राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । उनीहरुको स्वास्थ्यचौकी लामीडाँडामा उपचार भइरहेको स्थानीयले बताएका छन् ।

उपचारत घाईंतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उपचार गराउन घरबाट हिँडेका आफन्तको जीप दुर्घटनामा परी मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।

दुर्घटनाग्रस्त जीप सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । गुडीरहेको जीप सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको जनाइएको छ ।