खोटाङ मंसिर–१५, नाछिरिङ राई भाषाको पहिलो पटक स्वर वर्ण र व्यञ्जन बर्ण निर्धारण गरिएको छ । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारण गरिएको हो ।
 किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा बिभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको हो । भाषा, संस्कार र संस्कृतिका बिषयमा जानकार पुर्खालाई मंसिर ९ गतेदेखि १३ गतेसम्म धरानमा भेला गरेर नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाज लगायतका बारेमा छलफल एबं संकलन पश्चात शुक्रबार वर्ण निर्धारणका काम गरिएको केन्द्रले जनाएको छ ।
 भाषाविद् डा. तारामणी राईको सहजिकरणमा नाछिरिङ भाषाको २६ व्याञ्जन बर्ण र १३ स्वर बर्ण पहिचान गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)का महासचिव टेक नाछिरिङले बताउनुभयो । केन्द्रका अनुसार भाषविद्को सहयोगमा नाछिरिङ भाषामा क, ख, ग, घ, ङ, च, छ, ज, झ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह र अ लाई व्याञ्जन बणर््ाका रुपमा पहिचान गरिएको छ । यस्तै, इ, इः, इ, ए, एः, आ, आः, अ, अः, ओ, ओः, उ र उः स्वर बर्ण पहिचान भएको महासचिव नाछिरिङले बताउनुभयो । 
नाछिरिङ भाषाको पाठ्यक्रम तयार पारेर सोही भाषामा पठन–पाठनका लागि बर्ण पहिचानको काम गरिएको हो । विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्या करिब १२ हजार रहेको अनुमान गरिएको छ । संस्कार, संस्कृति र भाषा संरक्षण अभियानका लागि खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ र काठ्माण्डौंबाट नाछिरिङ समुदायका पुर्खालाई एक ठाउँमा भेला गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो ।