खोटाङ चैत्र–१९, खोटाङका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी सामु ठूला भ्रष्टचारी कार्बाहीमा नपरेको गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको कार्यक्रमका सहभागीले अख्तियारले ठूला भ्रष्टाचारीलाई समात्न नसकेको गुनासो गरेका हुन् ।
भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले स–साना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको दावी गरेका छन् । स्थानीय बलराम आचार्यले ‘साना माछा मात्र समातिदाँ संवैधानिक आयोगका रुपमा रहेको अख्तियार प्रतिको बिश्वास गुम्ने खतरा बढेको औल्याउनुभयो ।
यस्तै, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सदस्य सुर्य राईले देशका विशिष्ट नेताको नाम भ्रष्टाचारमा मुछिँदा समेत आयोगबाट जवाफ आउन नसकेको बताउनुभयो । राईले अख्तियार आफैभित्र पनि समस्या देखिएको भन्दै ठूला मान्छेमाथि उठेका प्रश्नको जवाफ पनि जनताले नपाएको जनाउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य रामकुमारी राईले अख्तियारको पहुँचलाई गाउँ–गाउँमा पु¥याउन आग्रह गर्नुभयो ।
सहभागी मोहन गुरुङले नियतवस र अन्जानमा भएका अनियमिततालाई छुट्याएर दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख सह–सचिव महेश आचार्यले कारबाही गर्ने क्रममा ठूला र साना भनेर फरक व्यवहार नगरेको स्पष्ट पार्नुभयो । ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७४/०७५ मा खोटाङबाट शिक्षामा ९ , स्थानीय तह सम्वन्धी १, उर्जा सम्वन्धी १ उजुरी परेका छन् । यस्तै, सिँचाई र स्वास्थ्य सम्वन्धी १/१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।