खोटाङ चैत्र–१४, दिन र रात उत्तिकै ब्यस्त र चलायमान रहने बिकसित शहर हङकङ । सोही हङ्कङको जोर्डनस्थित बगैंचा रेष्टुरेण्टमा हालैको साँझ लोपोन्मुख किराती मौलिक भाकाहरु गजवले गुञ्जिए । प्रत्यक्ष नेपाली बाजाहरुमा प्रत्यक्ष गाईएको भाकाहरुमा हङकङबासी खोटाङेहरु मज्जाले रमाए ।

नेपालमा लोप हुन लागेको मौलिक किराती भाकाहरुलाई खोटाङका गायक तथा संगीतकार पदम थुलुङ राईले प्रस्तुत गर्नुभएको थियो । केही बर्षदेखि खोज तथा संकलन गरिएको लोकभाकाहरुले मन छोएको सहभागीहरुको प्रतिक्रिया थियो ।
थुलुङ राई सामा हङकङले ‘लोपोन्मुख किराती सांगीतिक प्रस्तुती’ शीर्षकमा आयोजना गरेको पदम थुलुङ एकल साँझमा हङकङलाई कर्मथलो बनाउन पुगेका खोटाङका अघिल्लो पुस्ताको बाक्लो उपस्थिती थियो । सबै उमेर समुहका संगीतप्रेमीहरुको उपस्थिती रहे पनि प्रस्तुतिलाई अघिल्लो पुस्ताले खुब चासो दिनका साथै चाख मानेका थिए ।सहभागीहरुले लोकभाकाहरुसँगै आफुले भोगिआएका नेपालको ग्रामिण जीवनलाई झलझली सम्झिएका थिए ।

कसैले हाटबजार सम्झिए, कसैले घाँस–दाउरा मेलापात त कसै खेताला–गोठाला गर्दाको अर्गानिक जीवन भोगाईको झल्को लिए । उकाली–ओह्राली–भञ्ज्याङ–देउराली छाडेर हङकङलाई कर्मथलो बनाउन पुगेका सहभागीहरुले हाटबजार तथा मेलाहरुमा रातभरी गाएको भाकाहरुको तिर्सना मेटे । उमेरमा आफ्नो साथीसंगी तथा हितैको मायालुसँग गाएको भाकाहरु सम्झँदै भन्दैथिए–‘हामीले पहिले यस्तै गीत गाएर रात कटाउँथ्यौं ।’

रावाबेंसी गाउँपालिका–३ लामिडाँडामा जन्मिएर पछिल्लो समय लोपोन्मुख लोकलयको खोज तथा संकलनमा क्रियाशील पदम थुलुङले लोपोन्मुख सात भाकाहरु प्रस्तुत गर्नुभएको थियो ।
थुलुङ राईले आफ्नो संकलनमा रहेका लोपोन्मुख भाकामध्ये ‘रामदले भाका’, ‘मारुनी भाका’, ‘आयोसा भाका’, ‘लहरे भाका’, ‘गोठाले भाका’, ‘ठाडो भाका‘, ‘भाका गीत’लाई हङकङमा प्रस्ुतुत गर्नुभएको जनाउनुभयो ।
‘म पूराना भाकाहरु जति गाउँदै जान्थें, दर्शकहरुमा उत्साह थपिदैँ जान्थ्यो,’ राईले भन्नुभयो–‘मैले हार्मोनियम मात्रै बजाइदिन्थें, उहाँहरु आफै शब्द थप्दै र गाउँदै नाच्नुहुन्थ्यो ।’ हङकङमा लोपोन्मुख पूराना भाका सुन्न पाएकोमा दर्शकले उनलाई बधाई र धन्यवाद मात्र दिएन, लोपोन्मुख भाकाको थप खोज गर्न सुझाब समेत दिए ।

हङकङमा एकल प्रस्तुतिमा सुनाइएका पुराना भाका खोटाङ, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, उदयपुरजस्ता पूर्वी पहाडी क्षेत्रमा प्रचलित भए पनि हाल लोपोन्मुख अवस्थामा पुगीसकेका छन् ।
हार्मोनियम अगाडी राखेर भाकाबारे जानकारी गराउँदै प्रस्तुति अगाडी बढाउनुभएको थुलुङ राईलाई हङकङमै रहेका युवा दिनेश थुलुङ राई लगायतले वाद्यवादनमा सहयोग गरेका थिए । कार्यक्रममा राईले अधिकांश गणेशकुमार राईको शब्द संयोजन रहेको गीत र केही दशरथ राईको शब्द संयोजन रहेको गीत सुनाईएको बताईएको थियो ।

कुनै समय पूर्वी नेपालको किराती समाजमा निकै प्रचलनमा रहेका भाकाहरु अहिले लोप भईरहेका छन् । शास्त्रीय संगीतमा लामो समय साधना गर्नुभएको राईले नेपालका लोकभाकाहरुलाई लिएर मात्रै अन्तराष्ट्रिय संगीतको क्षेत्रमा नेपाली संगीतको मौलिक पहिचान बन्ने भनाई राख्नुभयो ।

पदम थुलुङ राईलाई खोटाङ समाज हङकङले ‘हलेसी साँझ–४’ का लागि हङ्कङ पु¥याएको थियो । हङकङमा रहेका खोटाङबासीहरुको सुख–दुःखका साहाराको रुपमा स्थापित गर्न लागेको अक्षयकोष स्थापनार्थ आयोजना गरेको उक्त कार्यक्रमपछि थुलुङ राई सामा हङकङले पदमको एकल साँझको आयोजना गरेको थियो ।