दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः कर कट्टी नै नगरी खर्च

काठमाडौं १३ चैत ।
जिल्लाको दश स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण अनुसार सबै स्थानीय तहमा बेरुजु र बेतिथिका चाङ फेला परेका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा त खर्च गरेको विल भरपाईको कर कट्टी समेत नगरेको फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले कर कट्टी नगरेको भन्दै कर यकिन गरी कर कट्टी गरेर खर्च गर्ने व्यवस्थालाई सुदृढ गर्र्न औंल्याएको छ ।

सामाजिक सुरक्षा र न्याय अभिलेख तथा बेरुजुको लगत अद्यावधिक समेत नगरेको पाइएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५ मा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नुपर्नेमा नगरपालिकाले बेवस्ता गरेको पाइएको हो ।

वितरण गरेको न्याय र सुरक्षाभत्ता भरपाईमा औंठाछाप मात्र लगाई बुझेको समेत पाइएको छ । त्यसमा वितरणको अवस्था यकिन गर्नुपर्ने महालेखाले औंल्याएको छ ।
नगरपालिकाले मालसामानको लगत र इन्धन तथा मर्मत खर्च समेत व्यवस्थित नगरेको पाइएको छ । बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्ने नियमको पनि नगरपालिकाले उल्लंघन गरेको छ ।
मर्मत सम्भार कोष अन्तर्गत ३७ हजार ८ सय ५२ रुपैयाँ मिलान हुन बाँकी देखिएको छ । लेखा परीक्षणमा गत वर्षको २२ लाख ३३ हजार र यो वर्षको आय २० करोड ६१ लाख गरेर २० करोड ४ लाख २७ हजार आय भएको र १ करोड २९ लाख ६३ हजार खर्च गरी २ करोड ५३ लाख ६४ हजार मौज्दान देखिएको छ ।