सांसद विशाल भट्टराई
खोटाङ, १४ फागुन । १८ दिन बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता नलागेको भन्दै सांसद विशाल भट्टराईले असन्तुष्टी पोखेका छन् ।
माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन नसकेको भन्दै आफन्तले आक्रोश पोखिरहेका बेलामा सांसद भट्टराईले पनि असन्तुष्टी पोखेका हुन् । लामो समयसम्म दोषी पत्ता लाग्न नसक्नुलाई दुःखद भन्दै सांसद भट्टराईले अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक अशरप्रति सचेत बन्न आग्रह गरेका छन् ।
खोटाङ क्षेत्र नम्बर २ का सांसद भट्टराईले केन्द्रबाट अनुसन्धानका बिज्ञ टिम, तालिम प्राप्त कुकुर र प्रविधिको प्रयोग गरेर भएपनि दोषी पत्ता लगाउनु पर्ने माग गरेका छन् । ‘मैले पटक–पटक सिडिओ र डीएसपीलाई रिताको हत्यारा पत्ता लगाउन भएसम्मको शक्ति लगाँउन भनिरहें, डीएसपी आफैं घटनास्थल पुगेर अनुसन्धान गर्नुभयो । तर, अहिलेसम्म ठोस नतीजा आएको देखिदैन,’ सांसद भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अपराध लुकाउनु पनि अपराध नै हो, तसर्थ हामी जोसंग जे सुचना छ, प्रहरीलाई दिएर अपराधी पत्ता लगाउन सघाऔँ ।’ स्टाटसको सुरुमा ‘अपराधी अझसम्म पत्ता नलाग्नु गम्भीर, अनुसन्धानलाई तीव्रता दिन जÞरूरी’ लेखेका भट्टराईले समाजको कलंकको रुपमा रहेको जघन्य अपराधमा संलग्न दोषीलाई अदालतको कठघरामा उभ्यााउनका लागि सबैलाई आग्रह गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रका किशोरीको हत्या भएका कारण सांसद भट्टराई माथि दोषी पत्ता लगाउन नैतिक बाध्यता पनि छ ।
घट्नाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थल पुगेर फर्किए पनि दोषी पहिचान हुन सकेको छैन । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । दोषी पत्ता लाग्न नसक्दा आफन्त थप चिन्तित छन् । प्रहरीका अनुशार घट्नाका बिषयमा अनुसन्धान जारी छ ।
सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो ।