चैत्र–४ हङकङ , चौबिसै घण्टा ब्यस्त रहने हङकङ शहरमा रात्रीकालिन चहलपहल बढिरहेको थियो । सरदर कदका लाग्ने हङकङबासी नागरिककै भीडभाडमा उही ज्यानका खाँटी नेपाली अनुहारहरु जोर्डनका याउमातेई कम्युनिटी हलतिर केन्द्रीत बन्न थाले । एकैछिनमा अर्थात स्थानीय समयअनुसार साँझको ७ बजेतिर उक्त हल हङकङबासी खोटाङे लगायत नेपालीहरुले खचाखच भरिए ।
छोटो औपचारिक कार्यक्रमबाट शुरु भएको हलेसी साँझ–४ ले रौनकताको गति लिन कति पनि समय लागेन । हवाई गतिमा अघि बढेको साँस्कृतिक तथा सांगीतिक कार्यक्रमले चरमबिन्दु तब समायो जव राजनराज शिवाकोटी मञ्च उक्लिए । संगीत सँगसँगै गायनको लय समाती चर्चामा आएका गायक तथा संगीतकार शिवाकोटीको प्रस्तुति शुरु हुन नपाउँदै केही दर्शक मञ्चमै प्रबेश गरी नाच्न कस्सिएका थिए । कालो जुत्ता, निलो पाईण्ट, कालो टिसर्टमा निलो कोट लगाई उत्रिएका राजनराजसँगै हङकङबासी कलासंगीतप्रेमीको भीड लागेपछि उनले कोट भने फुकाल्न बाध्य बने ।
दर्शक बीचबाटै सुर्के थैली हातमाथि उचालेको शिवाकोटीले घोषणा नै गरे– ‘सुर्के थैली बोलको गीत गाउँदा कसले राम्रो नाच्छ उसैले यो सुर्के थैली पाउँछ ।’ बर्तमान नेपाली सांगीतिक भूभागमा राज गर्न सफल शिवाकोटीले उचालेको सुर्केथैली आखिर कसैले पनि प्राप्त गर्न सकेनन् । भीडबाट एक्कासी निकालिएको सुर्केथैली उसैगरी गायब भए । घोषणा गरिए बमोजिम कसैले सुर्केथैली प्राप्त गर्न नसके पनि दर्शक नाच्न छाडेनन् ।
शिवाकोटीले आफ्नो चर्चित गीत चेप्टे–चेप्टे पेरुङ्गो, टाकानटुकुन टक्क, कुटुमा कुटु सुपारी दाना लगायतका गीतहरु गाएका थिए ।
खोटाङ समाज हङकहङले हङकङबासी खोटाङेहरुको हीतका लागि स्थापना गर्न लागेको अक्षयकोषको स्थापनार्थ आयोजित कार्यक्रमका अर्को आकर्षण बनेका थिए सिक्किमे होमजायगाको नामले परिचित दिलिप गुरुङ । युट्युव तथा सामाजिक सञ्जालमा मात्र सुनेको दिलिप गुरुङलाई प्रत्यक्ष देख्न पाउँदा दर्शक रमाएका थिए । छोटो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिलाएका गुरुङले हङबासी नेपाली तथा खोटाङबासीबाट पाएको मायाँ तथा सद्भावको सराहना गर्नुभयो ।
हङकङलाई कर्मभूमि वनाएर जन्मभूमिको हीतमा निरन्तर सक्रिय समाजले आयोजना गर्दै आएको हलेसी साँझको चौथो श्रृंखलामा चर्चित संगीतकार तथा गायक महेश खड्का, गायक तथा संगीतकार पदम थुलुङ राई, गायिका मीना राई, रोशन राई(पालुवास्टार), गायक सागर संसार राई लगायतले गीत गाउनुभएको आयोजकले जनाएका छन् ।
हङकङमा चर्चित नेप्लिज हङकङ गु्रपको खुकुरी नृत्य र संयुक्ता डान्स आर्ट गु्रपको साँस्कृतिक नृत्यले सांगीतिक साँझमा रौनकता थपेको थियो । कार्यक्रमलाई मिसेस हङकङ पबिता पुमा र सञ्चारकर्मी रामधन बेदनाले गति प्रदान गरेका थिए । करिब साँढे दुई घण्टाको साँस्कृतिक कार्यक्रमबाट प्रबासी दर्शक तथा कला संगीतप्रेमीहरु सन्तुष्ट बनेका थिए ।
साँस्कृतिक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिम रुपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना वनाईएको कार्यक्रम संयोजक पेङ किरातको भनाई छ । हङकङलाई कर्मथलो बनाईरहेका खोटाङहरुको साझा सामाजिक संस्थाको रुपमा स्थापित खोटाङ समाज हङकङले जन्मभूमिको लागि निरन्तर परोपकारी कार्यहरु गर्दै आएका छन् । यो पटक भने हङकङमै रहने जिल्लाबासीलाई आपतबिपद् आईलाग्दा प्रयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने योजना बनाईएको साँस्कृतिक कार्यक्रमका संयोजक किरातले जनाउनुभयो ।
कार्यक्रमको उद्घाटन खण्डमा सहयोगदाता तथा समाजका अग्रज ब्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।