खोटाङ फागुन–२९, खोटाङमा बेपत्ता भएको १९ महिने बालक २३ घण्टापछि शकुसल फेला परेको छ । मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसारटोलका राजकुमार मगर र सपना मगरको बच्चा एवान मगर बुधबार बिहान ९ बजे जंगलमा भेटिएको हो ।
घरबाटै बेपत्ता भएका हिँडडुल गर्न नसक्ने बालक घरभन्दा २ किलोमिटर टाढा पर्ने भस्लुङपाखामा शकुसल फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताउनुभयो । मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेसथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो । चुथ्रोको फेदमा शान्तसँग वसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताउनुभयो ।
हिँडडुल गर्न नसक्ने बालक घरभन्दा दुई किलोमिटर माथि जंगलको घारीमा भेटिएपछि स्थानीय अचम्मित भएका छन् । बेपत्ता भएको बालक फेला परेपछि अभिभाबक भने खुसी भएका छन् । बालक हराएपछि प्रहरीलाई समेत खबर गरिएको थियो ।
आमा कामका लागि बारीमा गएकाबेला बालकलाई हजुरबाको हेरचाहमा छाडिएको थियो । हजुरबा काम बिशेषले केही छिन घर बाहिर गएर फर्कँदा बालक राखेको ठाउँबाट बेपत्ता भएको आफन्तको भनाई छ । बालकको खोजीका लागि स्थानीयको तीन वटा समुह परिचालन गरिएको थियो । बालक हराएको खबर आएपछि प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।