खोटाङ मंसिर–१६,
नाछिरिङ राईको संगठन किरात रदु नाछिरिङ साखाम (केन्द्र)को नेतृत्व सकलबहादुर राईले लिनुभएको छ । शनिबार साँझ धरानमा सम्पन्न सातौं अधिबेशनबाट राई किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

२५ सदस्यीय साखामको उपाध्यक्षमा कमलकुमारी नाछिरिङ र भीमराज नाछिरिङ, महासचिवमा टेक नाछिरिङ, सचिवमा फडिन्द्र नाछिरिङ र सरिता नाछिरिङ तथा कोषाध्यक्षमा प्रभा नाछिरिङ चयन भएका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ, काठ्माण्डौं लगायत बिदेशमा बसोबास गरिरहेका नाछिरिङ समुदायका प्रतिनिधिको सहभागीतामा साखामको नयाँ नेतृत्व चयन गरिएको निर्वाचन मण्डलका संयोजक भीम राईले बताउनुभयो ।

पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाजको विवरण संकलन एबं वर्ण निर्धारण लगायतका काम टुंग्याए पश्चात किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसन उद्घाटन गरिएको थियो । साखामको अधिबेशन प्रदेशसभा सांसद राजन राईले शनिबार उद्घाटन गर्नुभएको थियो । अधिबेशन उद्घाटन सत्रमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार नाछिरिङ, भाषाबिद डा. तारामणी राई लगायतको उपस्थिति रहेको थियो । नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिएको छ ।

२०५३ सालमा गठन गरिएको साखामले २०५७ सालमा मात्र कानूनी मान्यता प्राप्त गरेको थियो । साहित्यकार एबं चित्रकार लैनसिं बाङ्देल संरक्षक र पुर्वक्याप्टेन मानबहादुर नाछिरिङ अध्यक्ष रहेको साखाम २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा दर्ता गरिएको थियो । साखामको दोश्रो अधिबेसनबाट भूपु क्याप्टेन मानबहादुर नाछिरिङ नै अध्यक्षमा दोहोरिएका थिए । यस्तै, तेश्रो र चौथो कार्यकालका अध्यक्ष प्रताप नाछिरिङ, पाँचौ कार्यकालका अध्यक्ष निरकुमार नाछिरिङ र छैठौं कार्यकालका अध्यक्ष गृहबहादुर नाछिरिङ चयन भएका थिए ।